आज मार्गशीर्षकृष्ण चतुर्दशी। आज दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिँदै छ।
आइतबार रातभर दीप दान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शत बीज छरी बाला चतुर्दशी पर्व मनाउँछन्। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बाला चतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन्।
पशुपतिनाथ आउन नसक्ने भक्तजनले भने आआफ्ना घर नजिकैको शिवालयमा त्रयोदशीको बेलुकीदेखि महादानी गरी चतुर्दशीका दिन बिहान शत बीज छर्छन्।
देशका विभिन्न भागबाट राजधानी आएका श्रद्धालु भक्तजनको मार्गशीर्ष कृष्ण त्रयोदशीको बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्ने गर्छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको हो।
जाडोको मौसम भएकाले पाललगायत व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्रमा आइतबार बिहानैदेखि सुरक्षाकर्मीलगायतको बाक्लो उपस्थिति रहने गरी व्यवस्था मिलाइएको कोषका प्रवक्ता रेवती रमण अधिकारीले जानकारी दिए।
पशुपतिनाथ आउने भक्तजनलाई कोषले पशुपति क्षेत्रका विभिन्न स्थानमा रोपेका बिरुवा नभाँच्न अनुरोध गरेको छ । ढुङ्गा छापेका स्थानमा शत बीज नछर्न पनि उनले अनुरोध गरे।
आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिर सान्तीको कामना गर्दै १०८ शिव लिङ्ग, कैलाश, सूर्य घाट, गौरी घाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शत बीज छर्ने गरिन्छ । बालचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजन कीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन्।
शत बीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठुलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गर्ने प्रचलन छ।
धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमका अनुसार हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिए अनुसार शत बीज भन्नाले धानका सय गेडा छर्नुपर्ने बताउँछन्।
वाग्मती किनारको मृगस्थलीमा भगवान् शिवले मृग रूप धारण गरेर विहार गरेको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको धार्मिक किंवदन्ती छ।
Discussion about this post