इटहरी । हिउँदको समय सुरु भएसँगै इटहरीका सडकहरूमा निर्माण सामाग्रीले ढाकेका छन् ।
हिउँद याममा निर्माण कार्य बढी हुने भएकाले इटहरीको मुख्य राजमार्ग बाहेकका भित्री सडकहरूमा जहीँतहीँ निर्माण सामाग्रीहरूले भरिएको देख्न थालिएको हो ।
इटहरीको पूर्व लाइनमा रहेको आइतबारे बुधबारे हटिया जाने बाटो, इटहरीको सङ्गीत चौक, तथा यहाँका मुख्य राजमार्ग बाहेकका अधिकांश भित्री पिच तथा टायल गरिएका ‘ब्लक’हरू भएको सडकमा निर्माण सामाग्रीहरू राखिएको देखिन्छ ।
यसरी आधा जसो सडक नै ढाकेर राखिएका निर्माण सामाग्रीहरू गिट्टी, बालुवा, इँटाहरू राखिएकाले दुर्घटनाको जोखिमसमेत बढेको छ ।
दैनिक इटहरी हटिया लाइनको बाटो हुँदै यात्रा गर्ने सुमन खनाल भन्छन्, ‘यहाँ दैनिक सयौँको सङ्ख्यामा साना तथा ठुला गाडीहरू गुड्ने गर्दछन्, यसरी बाटोमा गिट्टी बालुका राख्दा दुर्घटनाको जोखिम छ ।’
सडकमा निर्माण सामाग्री राख्ने प्रचलन बर्षौ पुरानो रहेको इटहरी ५ का स्थानीय गोविन्द श्रेष्ठ बताउँछन् । श्रेष्ठ भन्छन्, ‘बाटो ढाकेर निर्माण सामाग्री राख्ने गर्दा सवारी आवाज जावतमा समस्या हुन्छ ।
उनले सडकमै निर्माण सामाग्रीका कारण समस्या भइरहेको बताए ।
यसरी सडक किनारा वा आधा सडक नै ढाकेर निर्माण सामाग्री राख्दा पैदल यात्रुहरूलाई समेत समस्या हुने गरेको स्थानीय विनीता पौडेलको भनाइ छ । ‘सडक किनारामा समानहरू छन्, बिच बाटोबाट हिँड्दा सफारीले हान्छ कि भनेर डर हुन्छ,’ उनले भनिन् ।महिनौँसम्म घर बनाउन बाटोमा समान राख्दा पनि इटहरी उपमहानगरपालिकाले चासो नदिएको उनको गुनासो छ । यता, निर्माण सामाग्री सडकमा नराख्न इटहरी उपमहानगरपालिकाले पटक पटक सूचना जारी गर्दै आइरहेको छ ।
गत असोज १४ गते इटहरी उपमहानगरपालिकाले सूचना जारी गर्दै सडक क्षेत्रमा राखिएका निर्माण सामग्रीहरू हटाउन सात दिन भित्र हटाउन निर्देशन दिएको थियो ।
सूचनाको अवज्ञा गरेमा सम्पूर्ण सामग्रीहरू जफत गरी कानुनबमोजिम कारबाहीसमेत हुनसक्ने ब्यहोरासमेत उल्लेख गरिएको थियो ।
तर, सूचना जारी भएको दुई महिना बितिसक्दासमेत सडकहरूमा अलपत्रजस्तै गरी निर्माण सामाग्रीहरू राखिएको देख्न सकिन्छ ।
यस विषयमा इटहरी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख जेबी राईले सडकमा रहेका निर्माण सामाग्रीहरू चाँडै हटाउन सुरु गरिने बताए ‘इटहरीमा भर्खरै नगर प्रहरी भर्ना गरिएको छ, नयाँ नगर प्रहरीको तालिम सम्पन्न भएपश्चात् सक्रिय भएर यसरी सडकमा राखिएका निर्माण सामाग्रीहरू हटाउँछौँ ।’ उनले भने ।
Discussion about this post