इलाम / किरात समुदायले आफ्नो मौलिक पर्व उँधौली धूमधामसँग मनाएका छन् । प्रत्येक वर्ष मङ्सिर पूर्णिमा दिनदेखि मनाइने उँधौली यस वर्ष पनि मङ्गलवार किरात समुदायले विभिन्न कार्यक्रम गरी मनाएका हुन् ।
प्रकृति पूजक राई, लिम्बू, याक्खा, सुनुवार र थामी समुदायले आआफ्नै तरिकाले उँधौली मनाएका छन् । राईले उँधौली साकेला, लिम्बूले चासोक तङनाम (न्वागी पूजा), याक्खाले चासुवा, सुनुवारले फोलष्याँदर र थामीले भूमे पूजाको नामले यो पर्व मनाउने गर्दछन् । नयाँ अन्न आफ्ना दिवङ्गत पुर्खा र आआफ्ना आस्थाका भगवान्लाई चढाएर न्वागी पूजा समेत गर्ने गरिन्छ ।
लिम्बू समुदायले किरात याक्थ्ङ चुम्लुङको आयोजनामा इलाम नगरपालिका १० को माईखोला टापुबेंसीमा सामूहिक पूजापाठ, गाली श्राप बहन्थी, सांस्कृतिक र खेलकुद कार्यक्रम तथा वनभोजको आयोजना गरेको छ ।
यस्तै किरात राई समुदायले किरात राई यायोक्खाको आयोजनामा साकेला नाच, सम्मान कार्यक्रम, मौलिक पोसाकहरूको प्रदर्शनी र पूजाआजा गरी उँधौली मनाएका छन् । सुनुवार, याक्खा र थामीले आआफ्नो देवीदेवताको पूजाआजा, नाचगान, सांस्कृतिक कार्यक्रमलगायत इष्टमित्र भेटघाट गरी उँधौली मनाएका छन् ।
उँधौली पर्व इलामसहित किरात समुदायको बाहुल्यता रहेका पाँचथर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवसभा तथा उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौँमा समेत भव्यताका साथ मनाइने गरिन्छ ।
Discussion about this post