निशा राई
धरान / नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन बापत बक्यौता भएका ठुला उद्योगको धमाधम लाइन काट्न थालेपछि देशमा ठुला रोजगारी दिने उद्योगहरू बन्द गर्ने दिशा तर्फ उन्मुख भएको भन्दै सुनसरी उद्योग वाणिज्य सङ्घले विरोध जनाएको छ ।
बुधवार सुनसरी उद्योग वाणिज्य सङ्घले धरानमा पत्रकार सम्मेलन गरी ठुला उद्योगहरूको विद्युत् कटौतीको निर्णय गलत भएको सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले बताए ।
कोभिड १९ को महामारीका कारण मुलुकको अर्थतन्त्र लयमा फर्कन नपाउँदै विश्वव्यापी आर्थिक मन्दी, ब्याजदर बुद्धिको कारण निजी क्षेत्र लगायत अर्थतन्त्रै धरापमा परेको बेला निजी क्षेत्रले आफ्नो व्यावसायिक अवस्थालाई पुनः जागृत गर्नुपर्ने अवस्थामा जथाभाबी लाइन काट्न थालेको भन्दै अध्यक्ष श्रेष्ठले आपत्ति समेत जनाए ।
उनले पछिल्लो समयमा प्रधानमन्त्रीको निर्देशनमा नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल बक्यौता नतिरेको भनी सुनसरीको खनारमा अवस्थित रिलायन्स स्पिनीङ मिल्स लगायत देशका अन्य ठुला उद्योगहरूको विद्युत् कटौतीको गलत निर्णय भएको बताए ।
सुनसरीको खनारमा रहेको रिलायन्स स्पिनीङ मिल्स देशकै ठुलो उत्पादनमूलक उद्योग हो । मिल्समा जसमा झन्डै ४ हजार भन्दा बढी नेपाली श्रमिकहरू रोजगार गर्दै आएको मिल्सका कर्मचारी प्रमुख महेश पोखरेलले बताए ।
उद्योग बन्द भएसँगै श्रमिकहरूमा आश्रित सम्पूर्ण परिवारको बिचल्ली हुने अवस्था आएको पोखरेलको भनाइ छ ।
उनले अदालतमा मुद्दा चलिरहेको र निर्णय नभईसहेको अवस्थामा विना सूचना विद्युत् लाइन काट्ने कुनै आधार नभएको भन्दै सरकारको आलोचना समेत गरेका छन् ।
पोखरेलले अदालतमा बिचराधिन मुद्दा रहेको अवस्थामा निरङ्कुश शैलीमा खबरनै नगरी उद्योगको लाइन काटेको बताए ।
दैनिक १ सय १५ टन धागो उत्पादन गर्दे आएको रिलायन्सबाट उत्पादित धागो नेपाल सहित छिमेकी मुलुक भारत,बङ्गलादेश,टर्की लगायतका देशहरूमा निर्यात हुने गरेको छ ।
उद्योगको लाइन काटेपछि पूर्ण रूपमा उद्योग बन्द भएको प्रशासनले जनाएको छ ।
कर्मचारी प्रमुख पोखरेलले तत्काल उद्योगको लाइन सुचारु नगरे श्रमिकहरू सडकमा आएर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
डेडिकेटेड फिडर र ट्रंक लाइन प्रयोग गरी बिजुली उपभोग गरेका विभिन्न उद्योग प्रतिष्ठानले त्यसको महसुल तिर्न बाँकी रहेको विषय २०७५ सालमा सार्वजनिक भएको थियो ।
विभिन्न अदालत, संसदीय समिति, अख्तियार र मन्त्रिपरिषद् समेतले विद्युत् प्राधिकरणलाई बक्यौता महसुल असुल गर्न निर्देशन दिए पनि प्राधिकरणले त्यो रकम उठाउन सकेको थिएन ।
महसुल भुक्तानी गर्न पटक–पटक पत्राचार गरेको भए पनि उद्योगी व्यवसायीले नटेरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले हाल आएर नेपालको ठुलो उद्योगहरूको लाइन काटिदिएको जनाएको छ ।
रिलायन्सले अहिले सम्मको १ अरब ८० करोड रुपैयाँ प्राधिकरणलाई तिर्न वाकी रहेको प्राधिकरणले जनाएको छ ।
उद्योगलाई एक्कासी बन्द गर्नुभन्दा वार्ता र छलफलका माध्यमबाट यसलाई सुचारु गर्ने तर्फ सबैको ध्यान जान सके सबैको हित हुने उद्योगीहरु बताउँछन् ।
Discussion about this post