काठमाण्डौ / स्थायी घर इलाम भई हाल भक्तपुरको चारदोबाटो बस्दै आएका हेमराज नेपालले भक्तपुरकै चारदोबाटोस्थित एक किराना पसलमा आफूलाई आवश्यक पर्ने केही खाद्यान्न किने । त्यसपछि पसलेले सामान किन्दा उठेको बिल बनाए । हेमराजले आफ्नो पकेटबाट मोबाइल निकालेर सामान किन्दा उठेको बिलको रकम व्यापारीको एनआईसी एसिया बैंकको क्यूआर कोडमार्फत सहजै भुक्तानी गरिदिए ।
त्यस्तैगरी कागेश्वरी मनोहराको गोठाटार बस्ने सिन्धुपाल्चोककी रमा घिमिरेले पनि वीरेन्द्रचोकको एक कपडा पसलमा आफ्ना लागि केही कपडा किनिन् र उनले पनि कपडा किन्दा लागेको रकम व्यापारीको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको क्यूआर कोडमा आफ्नो मोबाइलको फोन–पेमार्फत सहजै भुक्तनी गरिन् । इलामका हेमराज नेपाल र सिन्धुपाल्चोककी रमा घिमिरे त प्रतिनिधि पात्र मात्र हुन् । पछिल्लो समय बैंक–वित्तीय क्षेत्रमा आएको परिवर्तनले आमनेपालीको दैनिकीमा उत्तिकै सहजता र परिवर्तन आएको छ ।
विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले नेपालीहरूको रकमको बचत, ब्याजमा सहुलियत तथा बैंकिङ कारोबारमा समेत विभिन्न फोन–पेको प्रयोग मार्फतबाट आममानिसलाई सहजता प्रदान गर्दै आइरहेको छ । बितेका लामो समयसम्म पनि ग्रामीण भेगका मानिसहरूको कमै मात्र बैंक खाता थियो । अझ दुर्गम जिल्लाको त कुरै नगरौं, भौगोलिक बनावट तथा सडकको अवस्थाले गर्दा धेरै मानिस बैंकिङ सेवाको पहुँचमा आउन नसकिरहेको अवस्थाको तुलनामा हाल भने मुलुकका धेरै ठाउँमा बैंक तथा वित्तीय संस्थाहरूले आममानिसलाई बैंकिङ सेवा–सुविधा सहजै प्रदान गरिरहेका छन् ।
अझ यो अवस्थालाई नयाँ उचाइमा लानका लागि बैंक तथा वित्तीय संस्थाहरूले दिनानुदिन अध्ययन–अनुसन्धान गरिरहेकै छन् । कसरी मानिसको दैनिकीलाई बैंकिङ कारोबारमार्फत सहज तुल्याउन सकिन्छ भन्ने हेतुका साथ विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो बैंकिङ प्रणालीलाई अत्यन्तै सहज तरिकाले ई–बैंकिङ प्रणालीका हाँगाहरूमार्फत विभिन्न बैंकिङ एप, क्यूआर कोडमार्फत सेवा सुचारु गरी मानिसहरूलाई सेवा दिन हरेक दिन लागिपरिरहेको अवस्था छ । यसैअनुरूप अहिले मुलुकमा विभिन्न बैंकिङ कारोबारमा संलग्न संस्थाहरूले आममानिसको दैनिकी सहज होस् भन्ने हेतुका साथ फोन–पेमार्फत कारोबारमा सहजता ल्याएका छन् । जसले गर्दा अहिले बैंकिङ कारोबारमार्फत मानिसहरूको दैनिकी सहज बन्दै गइरहेको छ । अहिले क्यास लेसको कारोबार ह्वात्तै बढेको छ । धेरै रकम बोकेर काममा हिँड्ने परिपाटी बिस्तारै अन्त्य हुँदै छ ।
फोन–पेको सुरुवात भएसँगै मानिसहरूले अहिले हरेक दिन दैनिक उपभोग्य सामानहरूको खरिद–बिक्री गर्न जाँदासमेत क्यासको कारोबारभन्दा पनि सीधै आफ्नो मोबाइलमार्फत फोन–पेको माध्यमबाट रकमहरूको कारोबार गर्ने गर्छन् । यसले गर्दा क्यास बोकिरहने झन्झट पनि भएन र अर्को कुरा, पैसा हराउने कुनै चिन्ता पनि भएन ।
यही प्रणालीलाई सहज मान्दै मुलुकका हरेक व्यावसायिक प्रतिष्ठानहरूले पनि यस्ता क्यूआर कोड तथा फोन–पेको थालनी गरेका छन् । ससाना पसलदेखि ठूलाठूला व्यापारिक महलसम्म मानिसहरूले फोन–पेको माध्यमबाट आफ्नो बैंकिङ कारोबार गरेका छन् । यो एउटा बैंकिङ क्षेत्रमा देखिएको परिवर्तनको नयाँ फड्को पनि हो । आर्थिक रूपान्तरणमा फोन–पेको सहजता आएसँगै मानिसको दैनिकीमा पनि उत्तिकै परिवर्तन र सहजता आएको छ ।
नियमित बैंक तथा वित्तीय संस्थाहरूमा जानुपर्ने बाध्यता बिस्तारै कम हुँदै छ । बैंकमा लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यता लगभग सकिएको छ । बैंकिङ कारोबारबाट हुन सक्ने दुर्घटनाको जोखिमको अन्त्य भएको छ । एकले अर्कोलाई समस्या पर्दा फोन–पेको माध्यमबाट रकम स्थानान्तरणमा ठूलो भूमिका खेलेको छ । रकमसम्बन्धी विभिन्न आर्थिक कामहरू सहजै फोन पेको माध्यमबाट भएको छ । सबैभन्दा ठूलो कुरा त समयको बचत भएको छ । जसले गर्दा मुलुकको आर्थिक रूपान्तरणमा पनि फोन–पेजस्ता महत्वपूर्ण बैंकिङ एपले निकै ठूलो भूमिका खेलेको छ । यसले मानिसहरूको जीवनशैलीदेखि दैनिकीमा पनि उत्तिकै सहजता र परिवर्तन ल्याएको छ ।
हाल मुलुकमा बैंकिङ कारोबारमार्फत अत्यन्तै चलेको केही एपहरू भनेको ई–सेवा, फोन–पे, कनेक्ट आईपीएस, प्रभु फोन पे, खल्तीजस्ता एपहरू हुन् । यिनीहरूले मुलुकभित्र रहेका प्रायः सबै बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकको सर्वसुलभताका लागि क्यूआर कोडको सुविधा ल्याएका छन् । बैंकमा खाता खोल्न गएपश्चात् सबै मानिसले आफ्नो इन्टरनेट बैंकिङबाट कारोबार गर्नका लागि ई–बैंकिङ फर्म भर्ने गर्छन्, जसबाट बैंकिङ प्रक्रिया पूरा गरेपश्चात् सहजै रूपमा बैंकले ई–बैंकिङ खाता खोल्ने गर्छ भने बैंकले आफ्ना ग्राहकलाई कारोबार गर्न सहज होस् भनेर यस्ता सरल एपहरूको पनि सुविधा ल्याएका हुन्छन् । सोहीअनुसार मानिसहरूले फोन–पेको माध्यमबाट पनि सहजै आर्थिक कारोबार गर्ने भएका छन् । पछिल्लो समय फोन–पेको माध्यममार्फत मानिसको दैनिकीमा आएको परिवर्तनको उदाहरण पनि हो यो ।
आजको आधुनिक समाज र समयको मागसँगै आएको परिवर्तनले भोलिका दिनमा आममानिसलाई योभन्दा अझ बढी सहज र सुलभ सेवा कसरी दिन सकिन्छ भनेर पनि बैंकिङ क्षेत्रका मानिस वा संस्थाहरू दिनानुदिन नयाँ सोचविचारले अगाडि बढिरहेका छन् । जसले गर्दा अब आउने पुस्तालाई बैंकिङ कारोबारमा झन् सहजता ल्याउन सहयोग पुगोस् भन्ने हेतुले गृहकार्य गरिरहेका छन् ।
तर, यसो भनिरहँदा सञ्चार क्षेत्रमा आएको परिवर्तनका कारण पनि होला, धेरै सामाजिक सञ्जालमार्फत युट्युब, फेसबुक, इन्स्टाग्राम टिकटकलगायतको गलत प्रयोगले गलत आचरण भएका मानिसहरूले धेरै फाइदा उठाउँछन् । जसले गर्दा सामाजिक सञ्जाल ह्याक गरेर व्यक्तिको बैंकिङ कार्यमा प्रयोग हुने ओटिपी कोड माग्ने, रकम माग्ने, धम्क्याउने, बैंकमा भएको रकम विभिन्न माध्यमबाट ठगी गर्ने जस्ता धेरै घटना घटेको सुनिँदै आएको छ । यसको बढ्दो प्रयोगसँगै दुरुपयोग पनि बढेकाले सामाजिक सञ्जालको प्रयोग गर्दा मानिसहरू अझ बढी संवेदनशील र सचेत हुनु जरुरी छ । आफ्नो स्मार्टफोनमा भएका जति पनि मोबाइल बैंकिङका एप, पासवर्डहरू छन्, क्यूआर कोडहरू छन्, ती सबै सुरक्षित तरिकाले राख्नुपर्छ । मोबाइलमा भएको सम्पूर्ण एपमा गोप्य पासवर्ड राखेर लक गर्नुपर्छ । सामाजिक सञ्जाल प्रयोग गरिसकेपछि लगआउट गर्न बिर्सनु हुँदैन । ह्याक हुने जोखिम बढ्न सक्छ । फोन–पेको कारोबार गरिसकेपछि खाता लगआउट गर्न बिर्सनु हुँदैन ।
यी त भए सामाजिक सञ्जाल प्रयोगसँगै देखिएका मोबाइल फोन–पेको सुरक्षासम्बन्धी जानकारीमूलक केही कुरा । तर, मुलुकको विद्यमान परिस्थितिसँगै बैंकिङ क्षेत्रले मुलुकको अर्थतन्त्र रूपान्तरणमा निकै ठूलो भूमिका निर्वाह गरेको छ । फोन–पेको अवधारणाले गर्दा मानिसको दैनिकीमा पनि उत्तिकै परिवर्तन र सहजता ल्याएको छ । बैंकिङ क्षेत्रको आर्थिक पाटोलाई सुधार्दै फोन–पे अर्थात् मोबाइल बैंकिङ सेवाले मुलुकभित्र रहेका मानिसहरूको विभिन्न व्यवसायलाई पनि सहजीकरण गर्दै लगेको छ भने बैंकिङ सुरक्षा र सावधानी पनि उत्तिकै अपनाउनु जरुरी छ ।
karobar
Discussion about this post