धरान / धरानका राजनीतिक दलका युवा विद्यार्थीहरूले मेयर हर्क साङ्पाङ्गको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्न खोजेपछि विवाद सिर्जना भएको छ ।
युवाहरूले फोटो टाँस गर्ने भएपछि धरान उपमहानगरपालिका कार्यालय तनावग्रस्त बनेको हो ।
मेयर हर्क साम्पाङले पौष १२ गते आफ्नो कार्यकक्षबाट राष्ट्रप्रमुखका तस्बिर हटाएर किरात राजा यलम्बरको तस्बिर राखेपछि सृजना भएको विवादले पौष १३ गतेको कार्यपालिका बैठक समेत स्थगित भएको थियो।
कार्यपालिका बैठकमा वडा अध्यक्ष लगायत कार्यपालिका सदस्यहरूले पुन फोटो राख्न अनुरोध गरेपछि मेयर साम्पाङले यस विषयमा सोचेर निर्णय गर्ने भनेर कार्यपालिका बैठक स्थगित भएको घोषणा गरेका थिए। तर अहिले सम्म मेयरले उक्त विषयमा कुनै पनि प्रतिक्रिया नदिएपछि धरानका राजनीतिदलका युवाहरूले फोटो राख्ने घोषणा गरेपछि नगरपालिकाको कार्यलयको मुख्य गेटमा नै बाक्लो सुरक्षाकर्मी राखिएको छ। कर्मचारी बाहेक अरूलाई प्रवेश गर्न निषेध गरिएको छ।
मेयर हर्क साम्पाङले राष्ट्रपती र प्रधानमन्त्रीको फोटो हटाएर किरात राजा यलम्बरको तस्बिर राखे पछि केही दिनदेखि राजनीतिक दलहरूले आपत्ति जनाएका थिए। यलम्बर राजाको तस्बिर राख्दा कुनै किसिमको आपत्ति नभएको तर राखिएको फोटो हटाउनु गलत भएको बताएका छन्। सिङ्गो राष्ट्रको सम्मानित राष्ट्रपती र कार्यकारी राष्ट्र प्रमुखको तस्बिर हटाएर संविधानको नियम नमानेको र राष्ट्रप्रमुखको अपमान गरिनु आपत्ति रहेको राजनीतिक दलहरूले बताउँदै आएका छन्।
Discussion about this post