विराटनगर । मापसे (मादक पदार्थ सेवन)का कारण दुर्घटना बढ्न थालेपछि मोरङमा सवारी चेकजाँचमा कडाइ गर्न थालिएको छ ।
सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सक्रियता बढाइएको हो । मापसेका कारण हुने दुर्घटना रोक्न आइतबारदेखि ट्राफिक प्रहरीले दिउँसै मापसे चेकजाँच गर्न थालेको छ । दुर्घटना न्यूनीकरणको उदेश्य राखेर दिउँसोसमेत चेकजाँच तीव्र बनाइएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) सुमन न्यौपानेले बताए ।
‘दुर्घटना रोक्न चेकजाँचलाई व्यापक बनाइएको छ । दिउँसोको समयमा पनि मापसे चेकजाँच गर्न थालेको हो,’ उनले भने, ‘चेकजाँच र निगरानीले नै दुर्घटनाको दर पनि कम हुन्छ । दिउँसै मापसे गरेर सवारी चलाउने प्रवृत्ति बढ्दै गएको जनगुनासो धेरै आउन थाले छ ।’ मापसे गरेर सवारी चलाउने क्रम रोक्न चालकलाई कारबाहीको दायरामा ल्याउने गरिएको उनको भनाइ छ ।
न्यौपानेका अनुसार विराटनगरसहित मोरङभर ‘मापसे चेकजाँच विशेष अभियान’ चलाइएको छ । यसअघि ट्राफिक प्रहरीको मापसे लक्षित कारबाही रातको समयमा मात्रै हुने गरेको थियो । अबदेखि दिउँसोको समयमा समेत चेकजाँच गर्न थालिएको न्यौपानेले बताए । दिउँसै मापसे गरेर चलाइएका सवारीसाधनले दुर्घटना गराउने क्रमसमेत बढेको छ ।
दिउँसोको समयमा कतिपय दुर्घटना मापसेकै कारण भएको पाइएको इन्सपेक्टर न्यौपानको भनाइ छ । सवारी चालकको मापसे चेकजाँचका लागि इन्सपेक्टर न्यौपाने आफैं फिल्डमा निस्किन सुरु गरेका छन् । अर्कोतर्फ मापसे चेकजाँचलाई लक्षित गरेर ट्राफिक प्रहरीका नायव निरीक्षक (सइ) सुन्दरश्याम पोखरेलको नेतृत्वमा अलग्गै टोली परिचालित छ । न्यौपानेका अनुसार सवारीसाधनमाथि निगरानी बढाउने, सवारीको अवस्था र कगजात चेकजाँच गर्ने, शंकास्पद सवारीसाधन नियन्त्रणमा लिने तथा मापसे गरेका चालकलाई कारबाही गर्ने गरी ट्राफिक सक्रियता बढाइएको हो ।
ट्राफिक प्रहरीले आइतबार दिउँसो विराटनगरको तीनपैनी, ट्राफिक चोकलगायतका केही स्थानमा मापसे चेकजाँच गरेको थियो । चेकजाँचलाई एम्बुलेन्स, सीटी सफारी, अटो टेम्पो, विद्यालयका सवारी, ट्याक्टर तथा फोहोर बोक्ने गाडीलगायतका सवारीसाधन लक्षित गरिएको थियो । चेकजाँचका क्रममा दिउँसै मापसे गरेर सवारी चलाउने गरिएको फेला परेको छ ।
चालकले मापसे गरेर चलाएका सवारीसाधन नियन्त्रणमा लिएर कारबाही गरिएको इन्सपेक्टर न्यौपाने बताउँछन् । न्यौपानेका अनुसार नम्बर प्लेट मेटिएर स्पष्ट नभएका सवारीसाधनलाई चेकजाँचस्थलमै नम्बर प्लेटसमेत लेखाउन थालिएको छ । केही समयअघिदेखि ट्राफिकले नम्बर प्लेट लेखाउन थालेको हो । हालसम्म नम्बर नबुझिने र स्पष्ट नभएका ५ सय वटाजति सवारीसाधनको नम्बर प्लेट लेखाइसकिएको उनले बताए ।
उनका अनुसार नम्बर प्लेट स्पष्ट नहुँदा दुर्घटना गराएर भागेका सवारीसाधनको पहिचान गर्न मुस्किल पर्ने गरेको थियो । नम्बर प्लेट स्पष्ट हुँदा दुर्घटना गराएर भाग्न नपाउने न्यौपानेले बताए । साथै, दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनाका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमलाई पनि तीव्र पारिएको इन्सपेक्टर न्यौपाने बताउँछन् ।
चालु आर्थिक वर्षको हालसम्म मोरङमा ५ सय ६१ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परेर ५२ जनाको मृत्यु र ८ सय ७६ जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिकका अनुसार लगभग २० प्रतिशतजति दुर्घटना मापसेका कारण भएको हो । चालु आबको साउनयता मापसे गरेर चलाइएका ६ सय ५ वटा सवारीसाधन कारबाहीमा परेका छन् ।
सवारीसाधन अनियन्त्रित भएर दुर्घटना हुनुको मुख्य कारण नै मापसे रहेको कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी सरोज पौडेल बताउँछन् । उनका अनुसार त्यत्तिकै थन्क्याइएका ‘ब्रेथ लाइजर मेसिन’लाई मर्मत सम्भार गरेर मापसे चेकजाँचलाई प्रदेशभरि नै व्यापक बनाइएको छ । ‘आफैं अनियन्त्रित भएर सवारी दुर्घटना हुनुको कारण मापसे नै रहेको पाइएको पौडेलले बताउ । मापसे गरेर सवारी चलाउने चालकलाई कारबाहीको दायरामा ल्याउने गरिएको उल्लेख गर्दै उनले ट्राफिक सक्रियता बढाउनुको एउटै उदेश्य दुर्घटनाबाट हुने मानवीय तथा भौतिक रोक्नु नै भएको बताए ।
मापसेविरुद्ध शून्य सहनशीलताको नीति लिइएको एसपी पौडेलले बताए । मापसे र नियमको उल्लंघन गरेर सवारी चलाउने जोकोहीलाई कारबाहीको दायरामा ल्याउने गरिएको जानकारी उनले दिए ।
Discussion about this post