विराटनगर । वन्यजन्तुको चोरीसिकारीमा संलग्न भएको आरोपमा मोरङको बेलबारीबाट सोमबार साँझ एक जनालाई पक्राउ गरिएको छ ।
प्रहरीका अनुसार लेटाङ नगरपालिका–३ कृतिमानका ५५ वर्षीय टंक माखिम (लिम्बू)लाई पक्राउ गरिएको हो ।
बेलबारी नगरपालिका–१० स्थित बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको थियो ।
वन समूहको गस्ती टोलीले नियन्त्रणमा लिएर माखिमलाई प्रहरीको जिम्मा लगाएको हो ।
प्रहरीका अनुसार उनको साथबाट भरुवा बन्दुकको केप, फलामको छर्रा, २ सय ५० ग्रामजति बारुद, लाइटर, टर्च लाइट, खुकुरी, झोलालगायतका सामान बरामद भएको छ ।
माखिमसँगै वन्यजन्तुको चोरीसिकारीमा संलग्न अन्य केही व्यक्तिहरु फरार भएको सूचना आएकाले खोजी जारी राखिएको जानकारी प्रहरीले दिएको छ ।
यस विषयमा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक (इन्सपेक्टर) तेजबहादुर दाहाल नेतृत्वको टोलीले अनुसन्धान अघि बढाएको छ ।
माखिमविरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी कसुरअन्तर्गत खरखजना मुद्दा चलाइने प्रहरीको भनाइ छ ।
Discussion about this post