निशा राई
धरान । धरान उपमहानगरपालिका वडा नं. १७ मा २०६७ सालमा ठुलो महत्त्वाकाङ्क्षी गुरु योजना बनाएर करिब ३ करोड रुपैयाँ लगानीमा निर्माण सुरु गरेको सप्तरङ्गी पार्क हाल बेवारिसे अवस्थामा रहेको छ ।
२०५५ सालमा पार्क निर्माणको लागि काठमाडौँको विडिआर निर्माण कम्पनीलाई धरान नगरपालिकाले ५ करोडको लागतमा ठेक्का दिएको थियो । करिब ३ करोड खर्च भइसकेको उक्त पार्कमा केही संरचनाहरू समेत बने पनि संरक्षणको अभावमा बनेका संरचनाहरू समेत दिनानुदिन जीर्ण बन्दै गइरहेको छ ।
२५ वर्ष अगाडि विडिए (बिल्डिङ्ग डिजाईन अथोरिटि) सँग सहकार्य गरेर धरान १७ मा रहेको ६२ बिगाहा जग्गामा सुविधा सम्पन्न सहित स्मारक पार्क, बाल उड्डयन, खेलकुदका गतिविधि लगायतका ठुलो महत्त्वाकाङ्क्षी गुरु योजना बनाएर करिब ३ करोड रुपैयाँ लगानीमा निर्माण सुरु गरेको धरान उपमहानगरपालिकाको वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले बताए ।
२०५५ सालमा विडिआर संस्थासङ सम्झौता भए पनि यसको काम भने २०६७ सालमा सुरु गरिएको थियो । पिकनिक स्पोर्ट, सहिद स्मारक पार्क तथा त्यहाँ भएका भौतिक संरचनाहरूको निर्माणको गरिएपनि हाल जीर्ण अवस्थामा रहेको छ ।
सप्तरङ्गी पर्यटकीय क्षेत्र ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक आध्यात्मिक केन्द्रका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गौरवको अद्वितीय नमुना बनाउने महत्त्वाकाङ्क्षी परियोजना रहेको पार्क हाल नगरपालिकाबाट केही पनि बजेट पारित नभएको र त्यसको लागी काम केही नगरेको धरान उपमहानगरपालिकाको इन्जिनियर किरण भुजेलले बताए ।
गुरु योजनामा परेको यो स्थानमा बनेका भौतिक संरचना जीर्ण बन्नु दुखद कुरा हो तर त्यो भन्दा ठुलो कुरा चाहिँ ६२ बिगाहा जग्गा अतिक्रमण भएर ९ बिगामा खुम्चिनु अत्ति दुःखद कुरा रहेको अधिवक्ता दीपक कुमार बुढाथोकीले बताए ।
सप्तरङ्गी पार्क पर्यटकीय क्षेत्र ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक आध्यात्मिक केन्द्रका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गौरवको द्वितीय नमुना बनाउने महत्त्वाकाङ्क्षी परियोजना थियो यसलाई सोही अवस्था नै बनाउँदा राम्रो हो । यसले धरानमा आन्तरिक तथा बाह्य पर्यटक भित्रिने बताए ।
स्थानियवासी बाबुराम कटुवालका अनुसार स्थानीय सरकारले यसलाई पिकनिक स्पोर्ट, बालबच्चा खेल्ने, घुम्ने बनाउन सके धरानमा राजस्व पनि उठ्ने बताए ।
सप्तरङ्गी पार्कमा बनाइएका पिकनिक स्पोर्ट, सहिद स्मारक पार्क तथा त्यहाँ भएका भौतिक संरचनालाई पुनः संरचना गर्नका लागी तयारी गरिरहेको धरान–१७ का वडाध्यक्ष सूर्य बहादुर भट्टराईले बताए । धरानको विकासको लागी भनेर नै सप्तरङ्गी पार्क निर्माण सुरु गरी पार्कको रेखदेख गर्न समेत कर्मचारी सीताराम राईलाई राखिएको उनले बताए ।
धरानमा मनोरञ्जनको लागी फन पार्कहरू नभएकोले नै आन्तरिक पर्यटकहरू धरान बाहिर जाने भएकोले धरानमा यो पार्क बनाउन जरुरी रहेको साथै धरानमा पर्यटक भित्राउन पनि यस पार्क बनाउन लागि परेको वडाध्यक्ष भट्टराईले बताए । हाल पर्यटन मन्त्रालयबाट पार्कका कम्पाउन्डको लागी १५ लाख बजेट छुटिएको उनले बताए ।
गत साल नगरपालिकाको कार्यपालिकाको बैठकमा नगर प्रमुख हर्कराज राईले सप्तरङ्गी पार्कमा सबै जातजातिहरूले आ–आफ्नो जाति अनुसारको बहुजातिय पार्क निर्माण गर्ने प्रस्ताव राख्दा कार्यपालिका बैठकमा यो एजेन्डा रद्द गरिएको थियो । बैठकमा वडाध्यक्ष तथा कार्यपालिकाका सदस्यहरूले पुरानै योजना अनुसार सप्तरङ्गी पार्क निर्माण हुनु पर्ने माग राखी नगर प्रमुख राईको प्रस्तावलाई अस्वीकार गरेको थियो ।
धरान उपमहानगरपालिकाका गुरुयोजनामा परेको यो पार्कमा उपमहानगरपालिकाले गम्भीरता नदेखाएकै कारण विभिन्न सङ्घ संस्था, सुकुम्वासीहरूले अतिक्रमण गरेको कारण यस पार्कका जग्गासमेत ६२ बिगाहाबाट ९ बिगाहा भएको छ । यसतर्फ धरान उपमहानगरपालिकाले ध्यान पुर्याउनुपर्ने महत्त्वपूर्ण आवश्यक देखिन्छ ।
Discussion about this post