इटहरी-सीप सिकेपछि सानो लगानी गरेर आय-आर्जन गरी आत्मनिर्भर बनाउने मुख्य उद्देश्य राखेर इटहरी वडा नं १ का महिला तथा पुरुषका लागि चार दिने प्रयोगात्मक सीपमूलक तालिम शुक्रवार सकिएको छ ।
वडा नं १ का २५ जना सहभागी तालिममा साबुन, फिनेल र हर्पिक बनाउने तालिम भएको हो ।
तालिम समापनका क्रममा इटहरी वडा नं १ का वडाध्यक्ष कैलाश कार्कीले परम्परागत तालिमभन्दा यस खाले तालिमले नयाँपन ल्याएको बताए ।
उनका अनुसार तालिममा सहभागी भएर अब साबुन, हर्पिक र फिनेल बनाएर स्वरोजगारीमुखी हुनेलाई वडाले सक्दो सहयोग गर्नेछ ।
सो क्रममा इटहरी वडा नं १ का वडा सदस्य हरिहर चौधरीले तालिममा सहभागीलाई अब सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गर्न सामान तयार गर्नतिर लाग्नुपर्ने सुल्झाए ।
कार्यक्रममा मोरङ सुन्दरहरैँचामा सञ्चालित फिनेल र हर्पिक उद्योग हसिना ग्रुप प्रालिका सञ्चालक रोहित राईले गाउँ घरमा उत्पादन गरेका सामान समेत उद्योगले खरिद गरी हौसला प्रदान गर्ने बताए ।
तालिममा हर्पिक र फिनेल बनाउने प्रयोगात्मक तालिम राईले प्रदान गरेका थिए ।
तालिममा प्राकृतिक जडीबुटीबाट साबुन तयार गर्ने तालिम भने संवृद्धि प्राकृतिक साबुन उद्योग धरान शाखा सञ्चालक मनिता घिमिरेले दिएकी थिइन् ।
पछिल्ला समय छालाको क्यान्सर, रगतको क्यान्सर, स्तन क्यान्सर, पाठेघरलगायतका नसर्ने रोगहरूको वृद्धि हुन थालेको छ ।
यस्ता रोगलाई निर्मूल गर्नका लागि प्राकृतिक जडीबुटीबाट बनेको साबुन लाभदायी हुन्छ ।
प्रशिक्षक घिमिरेले भनिन, ‘फुर्सदको समय पनि सदुपयोग हुन्छ ।
विशेष गरी महिलाहरूको समय खेर गइरहेको छ । कतिपय पुरुष पनि सिजनल कामबाहेक अरू काम नपाउँदा बेरोजगार भएर बस्नु परेको छ ।
यस्तो अवस्थामा प्राकृतिक साबुन घरायसी प्रयोग र उद्यमको रूपमा धेरै उत्पादन गर्न सके बजारीकरण गरी राम्रो आम्दानी गर्न सकिन्छ ।’
त्यसो त नेपालीलाई लाग्ने ८० प्रतिशतभन्दा बढी सरुवा रोग स्वच्छ खानेपानीको अभाव र सरसफाइको कमीले लाग्ने गर्छ भन्ने विभिन्न अनुसन्धानले देखाएको छ ।
सरसफाइमा पर्ने महत्त्वपूर्ण शौचालय पनि हो । शौचालय सफाइका लागि हर्पिक र फिनेल पनि आवश्यक पर्छ ।
यी सामग्री पनि गाउँघरमै उत्पादन गरेर आम्दानी गर्न सकिने सोचले तालिम आयोजना गरिएको आयोजक संस्था एराईजन नेपाल सोसाइटी सुन्दरहरैँचा मोरङकी अध्यक्ष पार्वती गच्छदारले बताइन् ।
कार्यक्रम इटहरी उपमहानगरपालिका वडा नं १ को सहकार्यमा भएको हो ।
Discussion about this post