काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकिर्तिमान कायम गरेको भन्दै व्यंग्य गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले माघे संक्रान्तिका दिन सिंहदरबारस्थित आफ्नो कार्यालय परिसरमा परम्परागत शैलीमा बनाइएको जस्तो देखिने ‘ढुंगेधारा’ खोलेर मेलम्ची खानेपानीको पुनःवितरण शुभारम्भ गरे । यो औपचारीक रुपमा काठमाडौंमा शुभारम्भ भएको पाँचौपटक हो । तर, पथान्तरणलाई पनि जोड्ने हो भने आठौं पटक हो । त्यसपछि मेयर बालेनले एउटै परियोजना बारम्बार उद्घाटनको विश्वकिर्तिमान कायम गरेको भन्दै प्रधानमन्त्री प्रचण्डको व्यंग्य गरेका हुन् ।
‘विभिन्न मितिमा खानेपानीमन्त्रीदेखि राष्ट्रपति समेतले गरेर मेलम्ची खानेपानीको उदघाटन ५ पटक भइसक्यो ।
मेलम्चीको पानी काठमाडौँ ल्याउने भनेर वि.स। २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरियो ।
त्यसको दुई बर्ष पछि २०५७ सालमा आयोजनाको विस्तृत ईन्जिनियरिङ अध्ययन प्रतिवेदन तयार भयो । तर सुरूङ खन्न शुरू गर्न पनि ११ बर्ष लगाएर २०६८ सालबाट मात्रै सुरूङ खन्न थालियो ।
त्यो ११ बर्षमा राजा ज्ञानेन्द्रको नेतृत्वसहित १३ पटक त प्रधानमन्त्रीहरु नै फेरिएका थिए ।
मेलम्चीमा भएका कर्मचारीको थपघट र नियुक्तीको सूची त झन् निकै लामो बन्ला । मेलम्चीका नाममा अरबौँका गाडी किनिएका थिए । एउटा दुहुनो गाई जस्तो मात्रै भयो मेलम्ची खानेपानी आयोजना ।
तर काठमाडौँमा पहिलो पटक पानी झर्न त्यसको ९ बर्षपछि मात्रै सम्भव भयो ।’ उनले भनेका छन् ।
साथै उनले थपेका छन्, ‘प्राविधिक जोखिमको आकलन र समाधान नगरि उचित प्राविधिक अध्ययनबिना राजनैतिक स्टन्टकै लागि मात्र मेलम्चीको पानी काठमाडौँ ल्याउन खोज्नु उदघाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडी मात्रै हो ।
राजनीतिक लाभका लागि भएका अस्थायी परिणाम ल्याउने र पुनस् समय, राज्यको लगानी र नागरिकका सपनाको दुरूपयोग हुनु हो ।
यसैले छिटोको नाममा नागरिकतहबाट पनि कमसल परिणामका लागि दबाब दिने भन्दा क्षणिकलाभका लागि प्रशासनिक संयन्त्र र राजनैतिक नेतृत्वको दुरूपयोग रोक्न बन्नु पर्ने संरचनाहरू बनेका छन् कि छैनन् भन्ने जानेर त्यतातर्फ दबाब बढाउन आवश्यक छ ।
हामी आलोचना मात्र गर्न चाहन्नौँ । यति चाहन्छौँ, बाह्रै महिना चौबिसै घण्टा पानी आओस् ।
हरेक पल्ट भन्ने गरेका छौँ, हामी केन्द्र सरकारसँग सहकार्य गर्न चाहन्छौँ । यो मौका दिनु हुनेछ भन्ने आशा लिएका छौँ । सहकार्यबाट दिगो परिणाम ल्याएर भन्न पाइयोस्, हाम्रो मन साच्चै नै जित्नु भयो भनेर ।’
यस्तो छ मेयर बालेनको स्टाटस
हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्वकिर्तिमान कायम गरेर ।
Discussion about this post