ताप्लेजुङ – ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुस महिनामा ३५ लाख रुपियाँभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा दर्शनमा आएका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम सङ्कलन भएको हो ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जारी गरेको प्रेस नोटअनुसार पुस महिनामा कुल ३५ लाख २९ हजार रुपियाँ भेटी रकम सङ्कलन भएको छ । पुस महिनामा भक्तजनले पाथीभरा देवीको नाममा चढाएका र दान गरेको भेटी रकम सङ्कलन गरिएको प्रेस नोटमा उल्लेख छ ।
पाथीभराको भेटीबापत सङ्कलित सो रकम जिल्लास्थित नेपाल बैङ्क लिमिटेड, सानिमा बैङ्क र एनएमबि बैङ्कमा रहेको समितिको खातामा जम्मा गरिएको कार्यकारी निर्देशक हाङ्बाङले बताए ।
अब पुस महिनाको समेत गरी पाथीभरामा सङ्कलन भएको कुल भेटी रकम आठ करोड ७० लाख ५२ हजार ५४८ रुपियाँ भएको छ । यसअघि मङ्सिर मसान्तसम्ममा आठ करोड ३५ लाख २३ हजार ५४८ रुपियाँ समितिको खातामा मौज्दात रहेको थियो ।
पाथीभरा क्षेत्र विकास समितिको कार्यकारी निर्देशकको जिम्मेवारीमा आएपछि हाङ्बाङले मासिक रूपमा भेटी रकम सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका थिए सोही प्रतिबद्धताअनुसार उनले पुस महिनामा सङ्कलन भएको पाथीभराको भेटी रकम प्रेस नोट जारी गर्दै सार्वजनिक गरेका छन् ।
पाथीभरामा भेटीबापत नेपालको मात्र नभई भारतसहित दर्जनौँ विभिन्न देशका मुद्रा अर्थात् रकम सङ्कलन हुँदै आएको समितिले जनाएको छ ।
Discussion about this post