निशा राई
धरान । नेपाली काँग्रेसले थारु समुदायको माघी पर्व र मगर समुदायको मिनाम सार ल्हेस पर्वको अवसरमा सांस्कृतिक तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ ।
नेपाल बहुभाषिक, वहुधार्मिक र बहुसांस्कृतिक देश भएको तथा देश झैँ दलपनि जनताको साझा नै हुने हुँदा हरेक नेपाली समुदायको मौलिक एवम् परम्परागत चाड, पर्व, उत्सव, धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्ने मुख्य दायित्व राजनीतिक दलको पनि उत्तिकै भएकोले विविध कार्यक्रम गरी सबैको चाडपर्व मनाइएको नेपाली काँग्रेसको सुनसरीका सभापति सुजेन्द्र तामाङले बताए ।
जातजाति, भाषाभाषी र धर्मवलम्वीहरुको विभिन्न चाडहरूलाई मनाउने कार्य सुरु गरेर क्षेत्रीय समितिले प्रशंसनीय कार्य गरेको कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्व सांसद मिना सुब्बाले बताईन ।
महामानव वी.पी. कोइरालाले भने बमोजिम जनता र समुदायको मन छुने कार्य यस कार्यले गरेको विशिष्ट अतिथि जिल्ला सभापति एवम् इनरुवा नगर प्रमुख केदार भण्डारीले बताए ।
काँग्रेसले पहिलोपल्ट फरक शैलीमा समुदायको पहिचानमा टेवा पुग्ने गरी कार्यक्रम भएको विशेष अतिथि पूर्व जिल्ला सभापति तथा पूर्व सांसद हरिनाथ बास्तोलाले बताए । विशेष अतिथि पूर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले कार्यक्रमले जातीय संस्कृतिलाई संरक्षण र प्रवर्द्धन हुने भन्दा यसको निरन्तरता हुनुपर्नेमा जोड दिए ।
पहिलो पल्ट मगर समुदायलाई निम्तो गरेर मगर चाड मिनाम सार ल्हेस (नयाँ वर्ष) मनाएको भन्दै नेपाल मगर सङ्घ, धरानका अध्यक्ष चित्र राज थापा खुसी व्यक्त गरेका थिए ।
थारु कल्याणकारीकी सभा सुनसरीका उपाध्यक्ष जानकी चौधरी र नेत्री सरिता चौधरीले थारु समुदायको महान् पर्व माघीलाई राजनीतिक दलस्तरवाट नेपाली काँग्रेसले पहिलो पल्ट मनाएर थारु समुदायको आत्मसम्मानलाई बढाएको बताईन ।
कार्यक्रममा थारु र मगर समुदायको विविध सांस्कृतिक नृत्य र झाँकी प्रस्तुत गरिनुका साथै जातीय खाद्य परिकार समेत खुवाइएको थियो । काँग्रेसको क्षेत्र नं. १, सुनसरीले दसैँ, तिहार, छठ, नेपाल संवत् र तीजमा जस्तै विभिन्न आदिवासी जनजाति समुदाय र धर्मवलम्वीहरुको चाडपर्व र उत्सवहरूमा पनि शुभकामना आदान–प्रदान, चियापान र सांस्कृतिक कार्यक्रम लगायत विविध मनोरञ्जनात्मक गतिविधिहरू गरेर मनाउन थालेको सभापति तामाङले बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश सदस्य अन्जना राई, जिल्ला उपसभापति नगेशचन्द्र राई, धरान नगर सभापति श्याम पोखरेल, नेपाल दलित सङ्घका प्रदेश सभापति गोविन्द दर्नाल, थारु कल्याणकारीकी सभाका धरान नगर अध्यक्ष भरतलाल चौधरी लगायत नेपाल मगर सङ्घ र थारु कल्याणकारीकी सभाका नेतृत्वहरू र जनसमुदायको उपस्थिति र सहभागिता रहेको थियो ।
Discussion about this post