काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले रुसी सेनामा भर्ती भएका नेपालीहरूबारे सरकार गम्भीर रहेको बताएका छन् ।
आइतबार बिहान युगाण्डाबाट फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले स्वदेश फर्काउन पहल भइराखे पनि सरकारले भन्नेवित्तिकै रुसले मान्ने स्थिति नरहेको बताए । ‘रूस-युक्रेन देशका सेनामा नेपाली भर्ती भएकोबारे सरकार गम्भीर छ। विभिन्न माध्यमबाट पहल पनि भइरहेको छ,’ उनले भने, ‘रुस-युक्रेन युद्धमा छन् । अहिले सरकारले भन्दावित्तिकै रुसले मान्दिहाल्ने स्थिति छैन ।’
आफूले युगाण्डा भ्रमणको क्रममा पनि रुसको उपविदेशमन्त्रीलाई भेटेर नेपालीहरूलाई स्वदेश फर्काइदिन अनुरोध गरेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले जागिर खाने नाममा राज्यको नीति र संविधानको विरुद्धमा नलाग्न आग्रह गरे ।
अफ्रिकी राष्ट्र युगान्डाको राजधानी काम्पालामा भएको असंलग्न आन्दोलन (नाम)को दुई दिने १९औँ शिखर सम्मेलनलमा भाग लिएर प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान स्वदेश फर्किएका हुन् ।
उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) आगामी संसदबाट टुंगोमा पुग्ने बताए । सदन खुल्नेवित्तिकै टीआरसी विधेयक प्राथमिकताका साथ टुंगो लगाइने बताए ।
सकेसम्म सबै दलहरूसँग सहमति गरेरै विधेयक टुंग्याइने उनले बताए । ‘टीआरसीबारे सबै छलफल र तयारी गरेका छौँ ।
संसदको उपसमितिबाट टुंगो लागेर समितिमा गएको छ,’ उनले भने, ‘सदन खुल्नेवित्तिकै हाउसमा लगेर प्राथमिकताका साथ टुंगो लगाइन्छ । सहमतिबाट नै यसलाई टुंगो लगाउन म प्रयासरत छु । विश्वास छ सबै दलको सहमतिबाट यो टुंगोमा पुग्छ ।’
Discussion about this post