मोरङ । मोरङको उर्लाबारी नगरपालिका-१, चारघरेबाट उद्धार गरिएको हिमचितुवालाई ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ।
उर्लाबारीबाट ल्याइएको हिमचितुवाको अवस्थामा सामान्य रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सुचना अधिकारी एवं वरिष्ठ इकोलोजिस्ट श्यामकुमार शाहले बताए। उनका अनुसार, पछाडिको बाँया खुट्टा टेक्न असहज भए पनि बाहिरि कुनै किमिसको चोट देखिएको छैन।
नेपालले संरक्षित सूचीमा राखेको हिमचितुवा मध्य तथा दक्षिणएशियाका १२ देशमा पाइन्छ। संसारभर तीन हजार ९२१ देखि ६ हजार २९० को हाराहारीमा हिमचितुवा रहेको अनुमान छ। नेपालमा पनि ३०१ देखि ४०० को संख्यामा हिमचितुवा रहेको आकलन छ।
नेपालमा दुई हजारदेखि ६ हजार मिटरको उचाइमा पाइने भए पनि यो भने १४६ मिटरको उचाइमा रहेको चारघरे क्षेत्रमा भेटिएको हो। यो कसरी चारघरे क्षेत्रमा पुग्यो भन्ने अध्ययन अनुसन्धानकै विषय रहेको शाहले बताए।
Discussion about this post