उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीले इटहरीका उद्योगी व्यवसायीहरू विदेश पलायन हुनुपर्ने स्थिति आएको बताएका छन् । प्रदेश खबरसँगको कुराकानीमा अध्यक्ष पराजुलीले स्थानीय सरकारले कर मात्र उठाउने र उद्योगी व्यापारीको पक्षमा काम नगर्दा अवस्था भयावह बन्दै गएको बताएका हुन् ।
इटहरीका विभिन्न समस्याहरूका बारेमा स्थानीय सरकारलाई पटक पटक झकझक्याउने गरेको भए पनि सुनुवाइ नभएको उनको गुनासो छ । इटहरीमा पार्किङको समस्या समाधान गर्ने आफ्नो चुनावी एजेन्डा पुरा गर्न आफूले तीन पटकसम्म ध्यानाकर्षण गर्दा पनि मेयरले चासो नदिएको अध्यक्ष पराजुलीले बताए ।
इटहरीमा निजी क्षेत्र र स्थानीय सरकारबिच हुनुपर्ने मैत्रीपूर्ण कामको वातावरण नभएको बताउँदै अध्यक्ष पराजुलीले व्यापारीहरू विस्थापित हुने अवस्था आइसकेको सुनाए ।
‘व्यापारीहरूको व्यापार नै हुँदैन भाडा मात्रै तिर्नुपर्छ, स्थानीय सरकारलाई कर मात्रै तिर्नुपर्छ, यसरी स्थानीय सरकारले कानमा तेल हालेर बस्ने हो भने कोशी प्रदेशकै व्यापारिक हबको रूपमा रहेको इटहरीबाट कर र पार्किङका कारण व्यवसायीहरू छाडेर जाने अवस्थामा छन्,’ अध्यक्ष पराजुलीले भने । इटहरीको सङ्गीत चोक आउने बाटोमा बेरा लगाएको कारण धेरै व्यापारीहरू विस्थापित हुने अवस्थामा रहेको उनले बताए ।
‘गाउँ, टोल वडादेखिका व्यावसायीहरुको समस्या सोध्नु त परको कुरा यस्तो भएको छ, उस्तो भएको छ भनी लौन यसो गर्दिनुस् भनेर बिन्ती बिसाउँदा पनि सुन्नुभएको छैन । सुनेर पनि कानमा तेल हालेर बस्नुभएको छ । त्यसकारण इटहरी हब हुनै लाग्दा नयाँ व्यवसायी आउने क्रम रोकिएको छ,’उनले भने व्यापारको नाममा बोनी मात्र हुने र सटर भाडा, बैकको ब्याज तिर्न नि कठिन हुने अवस्था आएको उनले बताए ।
खुल्ला बोर्डर भएकाले चोरी पैठारी बढेको, भन्सार तिरेर ल्याएको सामान भन्दा चोरी पैठारी गरेर ल्याएको सामान सस्तो हुने भएकाले व्यापारीहरूको सामान कम बिक्री हुने गरेको उनले बताए ।
इटहरी मात्र नभएर नेपाल भरकै स्थानीय तहले व्यवसायीको हितमा ध्यान नदिएको अध्यक्ष पराजुलीले बताए ।
‘हामी व्यावसायीहरुले पञ्चायती व्यवस्था हेर्यौं, हिजो राजनीतिक दल आएपछि व्यवसाय राम्रो होला भन्ने आस जगायो । फेरि अर्को माओवादीको जनयुद्ध पनि हेर्यौं, उनीहरूले चलाएको सरकार पनि हेर्यौं ।
एमाले सरकार आएपछि केही होला भन्ने आस थियो त्यसपछि काङ्ग्रेस हुँदै गठबन्धनको पनि हेर्यौ हेर्यौं तर कुनै पनि सरकार आउँदा नहुने रहेछ भन्नेमा हामी पुगेका छौँ, अध्यक्ष पराजुलीले गुनासो पोखे ।
सरकारकै कारण कारखानाहरू बन्द हुने अवस्था आएको र चल्दाचल्दैको उद्योगको बिजुलीको लाइन बिना सूचना काट्ने । बन्द गर्ने । अनि फेरि गल्ती भयो भयो भन्दै लाइन जोडिने गरिएको समेत उनले बताए । सरकारले व्यवसायीहरूका लागि नीति समेत ल्याउन नसकेको अध्यक्ष पराजुली बताउँछन् ।
परिस्थिति अनुसार चल्न र टिकेर व्यवसाय चलाउन उत्साह दिने काम नगरेको, निजी क्षेत्रसँग छलफल नगर्ने तर खाली कर मात्र उठाउने । कर मात्रै तिर भनेर दबाब दिने गर्दा समय एकदमै जटिल देखिएको छ ।
यही अवस्था हो भने पाँच वर्षमा कलकारखाना र व्यवसाय सबै बन्द हुन्छन् र पासपोर्टमा भिसा लगाउँदै बिदेसिनुपर्ने अवस्था आइसकेको छ । १२ कक्षा पास गरेर जसरी विद्यार्थीहरू विदेश जान्छन् त्यसरी नै इटहरीका व्यवसायीहरू विदेश पलायन हुने अवस्थामा छन्,’ अध्यक्ष पराजुलीले दुखेसो पोखे ।
स्थानीय, प्रदेश र केन्द्र सरकारले कुनै पनि नीति नल्याउँदा ब्यवसायीहरुलाई गाह्रो हुने अवस्थामा रहे पनि इटहरी उद्योग वाणिज्य सङ्घले ब्यवसायीहरुको हक हितको लागि आवाज उठाउँदा मुद्दाहरूमाथि कुनै सुनुवाइ अध्यक्ष पराजुलीले बताए ।
उद्योग वाणिज्य सघं इटहरीको अध्यक्ष पदमा निर्वाचित भएको एक वर्ष पुग्नै लाग्दा अध्यक्षको यस्तो गुनासो सार्वजनिक भएको हो ।
Discussion about this post