झापा । सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले झापामा तीन वटा बोर्डर आउट पोष्ट (बीओपी) आज एकै दिन उद्घाटन गरिएको छ ।
गौरीगञ्ज वडा नम्बर ४ स्थित अल्तामारी, वडा नम्बर २ स्थित लालमाटी र कचनकवल–२ स्थित डागाबारी बीओपीको उद्घाटन गरिएको हो ।
गौरीगञ्ज–२ स्थित लालमाटी बीओपीमा एक कार्यक्रम गरी उक्त तीन वटै बीओपीको उद्घाटन गरिएको थियो ।
सशस्त्र प्रहरी बल नं १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआइजी) अञ्जनीकुमार पोखरेल र कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले बीओपीहरुको संयुक्त उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्कीले सुरक्षा निकायलाई मागी खाने बनाउन नहुने बताए ।
सरकारले भवन बनाएर त्यहाँ राख्ने फर्निचर लगायत आवश्यक सामाग्री नदिने, सवारी साधन दिएर त्यसको मर्मत र इन्धनका लागि पर्याप्त बजेट नदिने गरेको भन्दै सुरक्षा निकायले मागेर काम चलाउनु परिरहेको बताए ।
जनताको जीउधनको सुरक्षा, सीमा सुरक्षा र सीमामा हुने आपराधिक गतिविधिी राजश्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरीले खेलेको भूमिका महत्वपूर्ण रहेको कार्कीको भनाई छ ।
कार्यक्रमका अध्यक्ष डीआइजी पोखरेलले झापामा १४४.०२ किलोमिटर अन्तराष्ट्रिय सीमामा साना ठूला गरी ९९५ सीमास्तम्भ रहेको जानकारी दिए ।
चारवटा प्रस्तावित सीमा सुरक्षा गुल्म र १७ वटा बीओपीले उक्त दुरीमा काम गरिरहेको र अन्य १५ वटा बीओपी स्थापनाका लागि प्रस्ताव गरिएको उनले बताए ।
भारतीय सीमा सुरक्षा निकायको तुलानामा नेपालमा अत्यन्त न्यून जनशक्ति र स्रोत साधनमा काम गरिरहनु पर्दा केहि असहज भइरहेको उनको भनाई थियो ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा बसोबास गर्ने आदिवासी, जनजाति, दलित, अल्पसंख्यक, अति विपन्न, पिछडिएको क्षेत्र र सीमान्तकृत समुदायका छात्राछात्र मध्ये सामुदायिक विद्यालयबाट एसइइमा उत्कृष्ट अंक ल्याउने १५ जनालाई बार्षिक १२ हजारका दरले शैक्षिकवृत्ति दिने र २ जनालाई एपीएफ स्कुलमा कक्षा १० सम्म निशुल्क अध्ययनको व्यवस्था मिलाउने योजना अघि सारेको जानकारी दिए ।
सशस्त्र प्रहरीबाट कुनै कमजोरी भएमा खबर गर्न र आफू त्यस्ता खराब कार्य गर्ने प्रहरीलाई कारबाही गर्न तयार रहेको बताए ।
कार्यक्रममा बीओपी स्थापनाका लागि जग्गा दिने दाताहरुलाई सम्मान गरिएको थियो ।
लालमाटीका जग्गादाता बिनिता लिम्बू, अल्तामारीका जग्गादाता बबिताकुमारी साह र डाँगाबारीका जग्गादाता उपेन्द्रप्रसाद आचार्यलाई दोसल्ला र सम्मान पत्रले सम्मानित गरिएको थियो ।
लिम्बूले सात कठ्ठा, साहले पाँच कठ्ठा र आचार्यले सात कठ्ठा जग्गा उपलब्ध गराएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल २ नं गण हेक्वा झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्यालले सीमा सुरक्षा, अवैध चोरी निकासी, राजश्व चुहावट नियन्त्रण, लागूऔषध नियन्त्रणमा झापामा सशस्त्र प्रहरीले सफलतापूर्वक कार्य गरिरहेको दाबी गरे । शान्ति सुरक्षाका लागि सीमा सुरक्षा अपरिहार्य भएको उनले बताए ।
कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलमती राजवंशी, उपाध्यक्ष पुजा न्यौपाने कुवँर, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबे, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीलगायत सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
Discussion about this post