विराटनगर । कोशी प्रदेशकै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था कोशी अस्पतालमा भइरहेको गैरकानुनी हर्कतलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन एवं अनुसन्धान सुरु गरेको छ ।
अस्पताल विकास समितिका नाममा गैरकानुनी निर्णय गरेर अस्पतालमा विभिन्न कामकारबाही र गतिविधि भइरहेको छ । त्यही गैरकानुनी निर्णय र गतिविधिमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयले छानबिन थालेको हो ।
छानबिन एवं अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा कारबाही हुने अख्तियार इटहरीका प्रमुख एवं सह–सचिव सुरेश न्यौपानेले बताए ।
कोशी अस्पतालमा कानुनविपरीतका गतिविधि भइरहेको भनेर विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएको थियो । ‘समाचार प्रकाशन भएपछि अख्तियारको ध्यानआकर्षण भएको छ ।
छानबिन एवं अनुसन्धान सुरु गरिएको छ,’ न्यौपानेले भने, ‘यस विषयमा अख्तियारको केन्द्रीय कार्यालय टंगाललाई समेत लेखेर पठाइएको छ । अख्तियारले आफ्नो कारबाही अघि बढाइसक्यो ।’
अस्पताल प्रशासन र विकास समितिसमेतको मिलेमतोमा मूल्यांकन र टेण्डर नगरिकन सरकारी भवनहरु भत्काइएको छ । चिकित्सक र कर्मचारीलाई आवासका लागि उपलब्ध गराइएका ६ वटा भवन गैरकानुनी रूपमा भत्काएर काठ, इँटा, रड, टिनालगायतका निर्माण सामग्री गायब पारिएको छ ।
भवन भत्काउन अस्पताल विकास समितिका अध्यक्ष डा. फरवार्ड सिलवालको डोजर प्रयोग भएको थियो ।
स्वास्थ्य मन्त्रालयको समेत स्वीकृति नलिइ आफूखुसी भवन भत्काइएको हो । मनोमानी हिसाबले भवन भत्काउने काममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाले सहयोग गरेका थिए ।
विकास समिति अध्यक्ष डा. सिलवाल र अस्पतालका मेसु झाकै मिलेमतोमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीविपरीत भवनहरु भत्काइएको छ । विभिन्न प्रभाव र दबाबमा परेर व्यक्तिगत स्वार्थका आधारमा भवन भत्काइएपछि अस्पताललाई लाखौं रूपैयाँ नोक्सान भएको छ ।
एक कर्मचारी अस्पतालको अस्तित्व नै संकटमा पार्ने र सरकारी सम्पत्ति स्वाहा बनाउने गरिएको थैरकानुनी हर्कतमा एउटा समूह नै सक्रिय रहेको बताउँछन् । अस्पतालमा स्वार्थ समूहले व्यापक चलखेल गरिरहेको उनको भनाइ छ ।
त्यस्तै, स्वास्थ्य मन्त्रालयबाट स्वीकृत दरबन्दीलाई लुकाएर अस्पताल विकास समितिका नाममा आफूनिकटका व्यक्तिलाई कर्मचारी बनाएर करारमा नियुक्त गर्न खोजिएको छ । जथाभावी मापदण्ड बनाएर आफूअनुकूल विभिन्न पदका ५० जना कर्मचारी भर्नाका लागि शंकास्पद हिसाबले दरखास्त आह्वान गरिएको हो ।
आफूनिकटका व्यक्तिलाई कर्मचारीमा नियुक्ति दिन डा. सिलवाल र मेसु डा. झाले मिलेमतो गरेको आरोप छ । माघ ४ गतेको मिति राखी २१ दिनको म्याद दिँदै तीन महिने सेवा करार रहने गरी मेडिकल अधिकृत, नर्सिङ अधिकृत, बायोमेडिकल टेक्निसियन, स्टाफ नर्स र फार्मेसी सहायक भर्नाका लागि विज्ञापनमार्फत दरखास्त आह्वान गरिएको छ । चलानी नम्बर र पत्र संख्या क्रमबद्ध नराखिकन एवं क्रम संख्या नै गायब पारेर शंकास्पद हिसाबले विज्ञापन गरिएको हो ।
तल्लो तहलाई लिखित र अन्तरवार्ता दुवै परीक्षा लिने तथा माथिल्लो तहलाई अन्तरवार्ताका भरमा नियुक्तिको तयारी गरिएको छ । त्यसले पनि डा. सिलवाल र डा. झाको मिलेमतो प्रष्ट हुन्छ ।
अस्पताल विकास समितिले १ सय २४ अस्थायी पद सिर्जना गर्दै स्वास्थ्य मन्त्रालयसँग दरबन्दी माग गरेको थियो । मन्त्रालयबाट ८७ जनाको दरबन्दी स्वीकृत भएर आएकोमा ५० जनाका लागि मात्रै दरखास्त आह्वान गरिएको छ । आफूनिकटकालाई सुटुक्क नियुक्ति दिन ३८ जनाको विज्ञापन नै नगरिएको अस्पताल स्रोतको भनाइ छ ।
अस्पताल विकास समितिले खुला प्रतिस्पर्धाबिना नै करारमा कर्मचारी भर्ना गर्न गैरकानुनी निर्णय पनि गरेको छ । समिति अध्यक्ष डा। सिलवालनिकट गोविन्द मिश्र र विनोद राजभरलाई करारमा नियुक्त गर्ने निर्णय पुस २२ गतेको बैठकबाट भएको हो ।
मिश्रलाई आठौं तहको बायोमेडिकल इन्जिनियर र राजभरलाई आठौं तहकै आईटी इन्जिनियरमा नियुक्त गर्न मेडिकल सुपरिटेन्डेन्ट (मेसु)लाई निर्देशन दिने निर्णय समितिको बैठकले गरेको छ । हलुका सवारी चालकमा कमलप्रसाद दाहाललाई नियुक्त गरिने निर्णयमा उल्लेख छ ।
स्वास्थ्य मन्त्रालयबाट दरबन्दी स्वीकृत भएर आएपछि खुला प्रतिस्पर्धाबिना नै आठौं तहमा करार नियुक्तिको अवैध निर्णय लिइएको हो । ५० जना कर्मचारी भर्नाका लागि विज्ञापन गरेको अस्पतालले आठौं तहको बायोमेडिकल र आईटी इन्जिनियरको भर्नाका लागि विज्ञापन नै गरेको छैन । दुवै पदमा सुटुक्क नियुक्ति दिने तयारी रहेको स्रोतले बतायो ।
स्रोतका अनुसार स्वास्थ्य उपकरणलगायतका सामग्री खरिद र मर्मत प्रक्रियासँग जोडिने भएकाले अस्पताललाई बायोमेडिकल इन्जिनियर अति नै आवश्यक छ ।
तर, विज्ञापनमार्फत प्रतिस्पर्धा गराएर स्वच्छ, सक्षम र उत्कृष्ट जनशक्ति चयन गर्नुपर्नेमा विकास समितिको बैठकबाट निर्णय गरेर भर्नाको तयारी गरिँदैछ । चिकित्सकहरु विज्ञापन नगरिकन करारमा नियुक्त गर्ने निर्णय हुनु सरासर गैरकानुनी र अस्पताल नियमावलीविपरीत रहेको बताउँछन् ।
‘हामीले छानबिन एवं अनुसन्धानको प्रक्रिया अघि बढाइसकेका छौं । टंगालमा पनि लेखेर पठाएका छौं,’ अख्तियार इटहरीका प्रमुख न्यौपानेले भने, ‘विभिन्न सञ्चार माध्यममा प्रकाशन भएको समाचारलाई उजुरी कायम गरेर थप अध्ययन गर्ने काम भइरहेको छ । अनुसन्धानबाट खुलेका तथ्यका आधारमा गैरकानुनी कामकारबाही गर्नेमाथि कारबाही हुन्छ ।’
उनका अनुसार छानबिन एवं अनुसन्धानका क्रममा सबै कागजात मगाएर अध्ययन गरिने छ । कर्मचारी भर्नामा गल्ती गरेको प्रमाणित भए नियुक्तिलाई रद्ध गरेर त्यसमा संलग्नलाई कारबाही गरिने न्यौपानेले बताए ।
बिना टेण्डर सरकारी भवन भत्काएको विषयमा पनि बुझ्ने काम भइरहेको उनको भनाइ छ । गलत गर्नेलाई उन्मुक्ति नहुने बताउँदै न्यौपानेले अस्पतालका पछिल्ला कामकारबाही र गतिविधि शंकास्पद एवं विवादास्पद देखिएपछि अख्तियारले चासो राखेको उल्लेख गरे ।
जिल्ला प्रशासन कार्यालय मोरङले पनि कोशी अस्पतालमाथि छानबिन गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले अस्पतालसँग लिखित जवाफ मागेका थिए । ‘अस्पतालले पठाएको जवाफको अध्ययन भइरहेको छ,’ प्रजिअ भट्टराईले भने, ‘जवाफ अध्ययन गरेपछि थप प्रक्रिया अघि बढाइने छ ।’
Discussion about this post