विराटनगर । तस्करीको कपडा र उक्त कपडा ओसारपसारमा प्रयोग गरिएको अटो टेम्पोसहित मोरङबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले कपडा तस्करीमा संलग्न विराटनगर महानगरपालिका–१५ का २८ वर्षीय तबरेज अन्सारी, २२ वर्षीय अभिषेक चौधरी र अटो चालक ३५ वर्षीय ओमजित साहलाई पक्राउ गरिएको बताए ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी नगरपालिका–४ स्थित बक्राहा पुलबाट तीनै जनालाई शनिबार पक्राउ गरिएको उनको भनाइ छ ।
जोशीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ह ६३०९ नम्बरको अटो नियन्त्रणमा लिएर खानतलासी गर्दा भन्सार छली गरेर ल्याइएको अवैध कपडा फेला परेको थियो । त्यसलगत्तै कपडा र अटोलाई नियन्त्रणमा लिँदै प्रहरीले ३ जनालाई पक्राउ गरेको हो । अटोबाट १ हजार ९२ थान टप्स र २० थान कुर्ता सलवार बरामद गरिएको उनको भनाइ छ ।
बरामद भएको कपडा करिब ३ लाख ३७ हजार ६ सय र अटो २ लाख ५० हजार मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।
डीएसपी जोशीले बरामद भएको कपडा र नियन्त्रणमा लिएको अटोसहित तीनै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आइतबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए ।
Discussion about this post