महोत्तरी । न दिन भन्न पाइन्छ, न रात । महोत्तरीका गाउँ नगर बस्तीमा नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बाली सखाप पारेर हैरान बनाएपछि किसान परम्परागत साधनको सहारा लिन थालेका छन् । खेतबारीका सुरसुरमा ‘धुआ’ मुर्कट, बुख्याचा, झिलुङ्गो ठड्याएर वन्यजन्तु तर्साउने यहाँको धेरै पुरानो चलन फेरि बाक्लिदै गएको छ ।
“यो धुआ ठड्याउने त पुरानै चलन हो, बीचमा वन्यजन्तुको चहलपहल घट्दा हटेको थियो । अहिले फेरि हामीले यसको सहारा लिन थालेका छौँ”, भङ्गाहा–५ कर्पुरगञ्जका ६० वर्षीय किसान रामजुलुम सर्दारले भने , “बाली माड्दै, उखेल्दै हिँड्ने वन्यजन्तु धुआ ठडिएको देखेपछि मान्छे हो भन्ठानेर हच्कदा रहेछन् ।” पूर्वपश्चिम राजमार्गबाट करिब २० किलोमिटर दक्षिणतर्फिको यहाँको बस्तीमा नीलगाई र बँदेलले धुरुक्क रुवाएका सर्दारको भनाइ छ । “बाँदर र दुम्सी त यता देखिएका छैनन्, तर नीलगाई र बँदेल ले भने हुर्मत लिएका छन्”, सर्दारले भने ।
महोत्तरीका मध्य र दक्षिणी क्षेत्रमा नीलगाई र बँदेल आतङ्कले आजित किसान बाली लागेका खेतबारीका सुरमा धुआ ठड्याउनसँगै ठाउँ–ठाउँमा बिजुली बाल्न थालेका छन् । बिजुलीको चिम बल्व को उज्यालोबीच हातमा छडी बोकाइएको मुर्कट अगाडि पर्दा वन्यजन्तु हच्केर भाग्ने गरेका पाइएको किसानको भनाइ छ ।
जिल्लाको मध्य र दक्षिणी भेगसम्म नीलगाई र बँदेल आतङ्क छ भने वनक्षेत्र नजिकका उत्तरीक्षेत्रका बस्तीमा त बाँदर र दुम्सीले पनि हैरान खेलाएको किसानको गुनासो छ । बेलाबेलामा हुने हात्तीको आक्रमणबाट वाक्कदिक्क बनाएका बर्दिबास–३ राईमण्डलका ६० वर्षीया कर्णमाया गुर्मछाने बताउछन् । “बाँदरले त यी ठड्याएका मुर्कट केही गन्दैन, आँगनकै थाङ्राका मकैसमेत उधिन्छ, नीलगाई र बँदेल भने बिजुलीको उज्यालो र मुर्कट देख्दा हच्किदा रहेछन्”, गुर्मछानेले सुनाए ।
“यो धुआ बाजेले ठड्याउनु भएको मलाई सम्झना छ”, विगत सम्झदै बर्दिबास–९ बनरझुल्लाका ७० वर्षीय रामचन्द्र महतो भन्नुहुन्छ, “बीचमा वन्यजन्तुको हिँडडुल कम हुँदा यसको चलन हराउँदै गएको थियो ।”
धुआ र बिजुलीको प्रबन्धले वन्यजन्तुको उपद्रो अलि कम भएको किसानको ठम्याइ छ । यसले बाली बच्ने र वन्यजन्तुलाई पनि चोट नलाग्ने भएपछि किसानले सन्तोषको श्वास फेर्न पाएका छन् । वन्यजन्तुले बाली खाएको देखेपछि लखेट्दा कैयौं बस्तीमा निलगाई मारिएका र बँदेललाई पासो थापेर मार्ने गरेका घटना पनि अब कम हुने किसानको विश्वास छ ।
दिनभरि घारीतिर लुकेर मध्यरातपछि तरकारी बाली, गहुँ, उखुका बोट र केराका थामसमेत उखेल्ने बँदेलले हैरान नै पारेका बेला धुआ र बिजुलीले आपूmहरुलाई राहत दिएको किसानको भनाइ छ । “बिजुलीको चमकमा हातमा लौरो लिएको मुर्कट देखेपछि मान्छे ठानेर बँदेल र नीलगाई हच्कदा रहेछन्” बर्दिबास–७ प्रेमनगरका रामउद्गार महतोले भनेर “खेतबारीमा बिजुलीको झलमल्ल उज्यालोमा जङ्गलीजन्तु हिँडेको पनि अलिक टाढैबाट देखिन्छ, देख्नासाथ हल्लीखल्ली गरिएपछि वन्यजन्तु भाग्ने भएका हुँदा अहिले क्षति कम भएको छ ।”
महोत्तरीमा अचेल उत्तरदेखि दक्षिणसम्मकै किसानले धुआ र बिजुलीको बन्दोबस्त बढाएका छन् । बस्ती र बस्तीका किसानले खेतखेतमा बिजुली बालेपछि जताततै चहकिलो उज्यालो देखिन थालेको छ ।
“खेतबारीमा झलमल्ल बिजुलीको उज्यालो हुन्छ, जङ्गली जनावरमात्र होइन, यसले चोर्न पल्केका पनि हच्कदा रहेछन्”, भङ्गाहा–४ रामनगरका किसान शुभनारायण ठाकुरले भने , “खेतमा बिजुली बल्न थालेपछि केराका घरी र तरकारी चोर्ने घटना पनि कम भएका छन् ।”
सघन तरकारी खेती गरिने महोत्तरीका उत्तरीक्षेत्रका स्थानीय तहहरु बर्दिबास, गौशाला, भङ्गाहा र औरहीसहित छिमेकको धनुषा जिल्लाको मिथिला र क्षिरेश्वर नगरपालिका एवम् बटेश्वर गाउँपालिकाका बस्ती – बस्तीमा पनि वन्यजन्तुबाट बाली जोगाउन किसानले धुआ र बिजुलीको उपाय बाक्लै अपनाउँदैछन् ।
Discussion about this post