झापा । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायहरुको अधिकारका क्षेत्रमा वकालत गरिआएको संस्था लिड नेपालले दमकमा सरोकारवालाहरुसंग समन्वयत्मक बैठक सम्पन्न गरेको छ ।
आज दमकमा भएको सो कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय र सरोकारवालाहरुबीच अन्तरक्रिया समेत गरिएकोे हो ।
कार्यक्रममा लिड नेपाल दमककी कार्यक्रम संयोजक नुमा लिम्बू (चन्चला)ले संस्थाले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायहरुको अधिकारका क्षेत्रमा गरिरहेका कार्यक्रमका बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उनले संस्थाको सवलीकरणसंगै लक्षित समुदायको अधिकार तथा उनीहरुमा हुन सक्ने एचआइभी संक्रमणको जोखिम न्यूनीकरणका लागि सञ्चालित इपेक नेपालको परियोजनाका सन्दर्भमा समेत कार्यपत्र प्रस्तुत गरिन् । त्यस्तै, उनले पहिचानमै समस्या हुँदा आफूहरुले अझै पनि हिंसा र दुव्र्यवहारको शिकार बन्न बाध्य हुनु परेको गुनासो सुनाइन् ।
कार्यक्रममा इपेक नेपाल परियोजनाकी कोशी प्रदेश को–अर्डिनेटर सलिना जोशीले परियोजनासहित एचआइभी एड्स रोकथाम , उपचार, सचेतना तथा सञ्चालित कार्यक्रमका सन्दर्भमा छुट्टै कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
अन्तरकृयासहितको बैठकमा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले सामाजिक विभेदका रुपमा रहेका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई समाजमा पुर्नास्थापना गराउन स्थानीय सरकारले सहयोग पुरयाँउदै आएको बताईन् । लिड नेपाललाई संस्थागत हितमा उपयोग हुने गरि चाडै कार्यालय व्यवस्थापनका लागि जग्गा उपलव्ध गराउने उनले प्रतिवद्धता जनाईन् । उनका अनुसार यी समुदायलाई स्वरोजगार बनाउन नगरपालिकाले व्यूटिपार्लर तालिम दिई थप प्रोत्साहनका लागि यो वर्ष आफनो कोषसहितबाट करिव २ लाख ५० हजार खर्च गरिएको छ ।
कार्यक्रममा लिड नेपालमा आवद्ध सनम श्रेष्ठले यो समुदाय भएकै कारण आफूले सामाजिक , परिवारिक समस्या का पीडाहरु सुनाएका थिए । उनले लैगिक तथा अल्पसंख्यकको अधिकारको क्षेत्रमा बोले पनि व्यवहारमा नागरिकता लिनेदेखि बैबाहिक समानता र शिक्षा पाउने जस्ता विषयमा विभेद सहँदै आएको उल्लेख गरे ।
कार्यक्रममा दमक नगरपालिकाकी सामाजिक विकास समितिकी संयोजक तथा कार्यपालिका सदस्य शारदा भट्टराई, सामाजिक विकास शाखाका अधिकृत केशव प्रसाई, जनस्वास्थ्य कार्यालय झापाका विरेन्द्र दास, दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराई, दमक अस्पतालका डा.रोशनकुमार साह, कमल गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक दिपक दाहाल, सामाजिक अगुवा खगेन्द्र भट्टराई लगायतले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायहरुको विषयमा आ–आफना विचार राखेका थिए ।
Discussion about this post