झापा । वीरता लेडी जेसीजले नेपालकै पहिलो महिला रिक्सा चालक फूलमाया धिमाललाई सहयोग गरेको छ । बिर्तामोडको महानन्द चोकमा आज धिमाललाई खाद्यान्न, लत्ता कपडा, घरायसी प्रयोजनका सफाई सामग्री र नगद सहयोग गरिएको हो ।
जीवन गुजारा चलाउन सङ्घर्ष गर्दागर्दै बिर्तामोडको सडकमा रिक्सा कुदाएर देशव्यापी ख्याति कमाएकी फूलमाया यतिबेला गुमनाम जस्तै छिन् । हिजोको सीप, क्षमता र आँट बुढ्यौलीले ओझल पार्दै लगेका बेला लेडी जेसीजले सहायताका लागि धिमाललाई सम्झिएको हो ।
समुदायमा जेसीज ः शुभ दिन, शुभ कार्य अन्तर्गत नेपालको पहिलो महिला रिक्सा चालक धिमाललाई खाद्यान्नसहित लत्ता कपडा र नगद सहयोग गरिएको वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले बताइन् ।अध्यक्ष ओलीका अनुसार धिमाललाई तीन बोरा चामल, १० लिटर तेल, नुन, मसला, एक बोरा मुरइ, ब्ल्याङ्केट, लत्ता कपडा, घरायसी प्रयोजनका सरसफाई सामग्री र नगद आठ हजार रुपैयाँ प्रदान गरिएको छ ।
अर्जुनधारा–६ का वडाध्यक्ष हरिश्चन्द्र बाँस्तोलाको प्रमुख आतिथ्यमा धिमाललाई सहयोग हस्तान्तरण गरिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल जेसीजका कानुनी सल्लाहकार सिनेटर नरेशचन्द्र ओझा विशिष्ट अतिथिका रुपमा सहभागी रहेका थिए । लेडी जेसीजकी सहसचिव एलिना रिजालको संयोजकत्वमा भएको कार्यक्रममा पूर्व अध्यक्ष संगीता चिमरिया र निवर्तमान अध्यक्ष संगीता गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए । उपाध्यक्ष कविता ओलीले आस्था वाचन गरेको कार्यक्रमको सञ्चालन महासचिव मुना ढुंगेलले गरेकी थिइन् ।
Discussion about this post