धरान घण्टाघरको घडि बिग्रिएको महिनौ पछि मर्मत भएको छ । धरान उपमहानगरपालिकाले बिग्रिएको घडि मर्मत गरेको हो ।
प्रदेशखबर लगायत विभिन्न सञ्चारमाध्यममा ‘वेवास्तामा धरानको घण्टाघरः न घडि चल्छ,न घण्टा बज्छ’ भन्ने समाचार प्रकाशन÷प्रसारण भएपछि धरान उपमहानगरपालिकाको चौतर्फी आलोचना भएको थियो ।
दैनक ५ देखि १० हजार सम्म आम्दानी गर्ने धरान घण्टाघरलाई वेवास्ता गर्दै आधा लाख बजेट र ५ घण्टाको समयमा मर्मत हुने घडि नबनाउदा त्यसले धरान उपमहानगरपालिकाको नेतृत्वलाई नै गिज्याइरहेको थियो ।
धरानको मुख्य पहिचान बनेको घण्टाघरलाई नै उपमहानगरपालिकाले वेवास्ता गरेपछि घण्टाघरको घडि समेत मर्मत हुन सकेको थिएन ।
धरान–९ स्थित जिग्वी कम्प्युटर्सका मिलन खड्का र नवराज पौडेलले घण्टाघरको घडि मर्मत गर्न चासो राख्दै उपमहानगरपालिकामा प्रस्ताव राखेका थिए । अहिले घण्टाघरको घडि मर्मत गर्न धरान उपमहानगरपालिकाको जम्मा ४६ हजार ५ सय रुपैया खर्च भएको छ भने प्राविधिकलाई घडि मर्मत गर्न ५ घण्टा समय लागेको छ ।
प्राविधिक मिलन खड्का भन्नुहुन्छ –‘हामीले विगत २–३ वर्षदेखि घण्टाघरको प्राविधिक काम गरिरहेका छौं, केही स्थानमा घण्टाघरको घडि जडान गरेका छौ भने कतिपय घण्टाघरका घडि मर्मत पनि गरेका छौ ।’ खड्काका अनुसार घडिको पार्टस् पूर्जा भारतबाट ल्याउन २ दिन पर्खनु परेको तर घडि मर्मत गर्न जम्मा ५ घण्टा लाग्यो ।
धरानको घण्टाघर अहिले कुरुप बनेको छ । घडि बिग्रिएर मात्र नभइ घण्टाघर परिसरको झाडीले पनि घण्टाघरलाई कुरुप बनाइरहेको छ । घण्टाघर परिसरका रुखले घण्टाघर देखिदैन भने परिसर भित्र रहेको भव्य गणेश मन्दिर, भूकम्प स्मारक समेत बाहिरबाट देखिदैन । यसको व्यवस्थापन गर्न पनि धरान उपमहानगरपालिका उदासिन छ ।
धरानको घण्टाघर २ नं. वडामा पर्छ । वडाध्यक्ष रमेश राई भन्नुहुन्छ –‘पहिलो चरणमा घण्टाघरको घडि बनायौ र प्रत्येक घण्टामा बज्ने बनायौ, अब यसको सुन्दरता तर्फ पनि ध्यान दिन्छौ ।’ घण्टाघर सञ्चालनकालागी धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईको संयोजकत्वमा समिति गठन भएको जानकारी दिइएको छ ।
Discussion about this post