विराटनगर । मोरङ प्रहरीले नयाँ रणनीतिक सुरक्षा योजना बनाउन सुरु गरेको छ ।
भारतसँगको खुला सीमा रहेको मोरङमा कोशी प्रदेशको राजधानी विराटनगर पनि पर्छ ।
मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले शान्ति सुरक्षा र अपराध नियन्त्रणका दृष्टिकोणले चुनौतीपूर्ण मानिने मोरङमा नयाँ सुरक्षा रणनीतिक योजना बनाएर लागू गरिने जानकारी दिए ।
एसपी कार्की फागुन ७ गते मोरङ हाजिर भएका हुन् । उनले सोमबार पहिलोपटक पत्रकार सम्मेलन गरेर अपराध नियन्त्रण तथा शान्ति सुरक्षामा देखा पर्ने चुनौतीलाई पार लगाउन नयाँ सुरक्षा रणनीतिक योजना बनाउने कामलाई तीव्र पारिएको बताए ।
भारतसँगको खुला सीमादेखि दुर्गम पहाड, चुरे र वन क्षेत्र, प्रदेश राजधानी, भीआईपीको अत्यधिक आवतजावत, औद्योगिक करिडोर, राजमार्ग, बढ्दो जनसंख्या, अव्यवस्थित बसोबास, अस्वस्थ राजनीतिक गतिविधिलगायतका कारणले मोरङलाई शान्ति सुरक्षा, अपराध नियन्त्रण एवं अनुसन्धानका दृष्टिकोणले चुनौतीपूर्ण मानिन्छ ।
नयाँ रणनीति कार्ययोजना बनाउने क्रममा विराटनगर महानगरसहित मोरङका १७ वटै पालिका र प्रदेश सरकारसँग समन्वय गरिने जानकारी एसपी कार्कीले दिए ।
उनका अनुसार जिल्लाको वस्तुस्थिति, भूगोल तथा विगतका अपराधिक घटना र स्थान विशेषलाई मध्यनजर गरी नयाँ सुरक्षा योजना बनाइने छ । त्यसमा प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङलगायत उच्च प्रहरी अधिकारीले सहजीकरण गरिरहेका छन् ।
मोरङमा राजमार्गदेखि सीमा क्षेत्रसम्ममा अत्यधिक समस्याहरु छन् । प्रदेश राजधानी भएकाले भीडभाड र मानवीय चहलपहलसमेत बढ्दो छ । त्यहाँमाथि ‘भीआईपी मुभमेन्ट’ पनि धेरै हुन्छ ।
विभिन्न गतिविधिले सुरक्षा चुनौती बढ्दो छ ।
पालिकाहरुसँग अन्तरक्रिया गरेर स्थानीयस्तरका समस्या र सुरक्षा चुनौतीको जानकारी लिँदै सबै खालका समस्याको सम्बोधन गर्ने तथा शान्ति सुरक्षाको अवस्था मजवुत बनाउने हिसाबले नयाँ रणनीतिक योजना तयार पारिने कार्कीले बताए ।
वस्तुस्थिति बुझेर तयार पारिने सुरक्षा योजना स्थान विशेषअनुसार लागू गरिने उनको भनाइ छ ।
सरोकारवालासँग छलफल एवं अन्तरक्रिया गरेर स्थानीयस्तरको समस्या एवं सुरक्षा चुनौतीको पहिचान गर्दै प्राप्त सुझावलाई समेटेर सुरक्षा योजना बनाई लागू गरिने जानकारी कार्कीले दिए ।
उनका अनुसार पछिल्लो समय राष्ट्रियस्तरकै समस्या बनेर गएको लागूऔषध नियन्त्रणलगायतलाई केन्द्रित गरेर सुरक्षा रणनीतिक योजना तयार पारिँदै छ । भारतसँगको खुला सीमाका कारण मोरङमा लागूऔषधको ओसारपसार र कारोबार दिन प्रतिदिन बढ्दै गइरहेको छ ।
लागूऔषध र अवैध हतियारको ओसारपसार एवं कारोबार, सीमा क्षेत्रदेखि दुर्गम पहाडसम्मको सुरक्षा, भन्सार छली, तस्करी, चोरी, आत्महत्या, सवारी दुर्घटना, फरार प्रतिवादी पक्राउसहित विभिन्न खालका अपराधिक घटना नियन्त्रणलाई प्राथमिकतामा राखेर सुरक्षा योजना बनाउने काम भइरहेको कार्कीले बताए । ‘प्रहरीको एउटै चुनौती अपराध नियन्त्रण र मजवुत शान्ति सुरक्षा हो,’ उनी भन्छन्, ‘सबै पक्षसँगको समन्वय र सहकार्यमा प्रहरीको कामकारबाहीलाई प्रभावकारी बनाइने छ ।’
प्रहरीले पीडामा परेकाको समस्याको सुनुवाइ नगरेको जनगुनासो व्याप्त रहेको कार्की बताउँछन् । अन्यायमा परेर न्याय माग्न आएको मान्छेको समस्याको अब तत्काल ‘रेस्पोन्स’ गरिने उनले बताए ।
कानुनले दिएको अधिकार प्रयोग गर्दै पीडितलाई न्याय दिन र पीडकलाई कारबाहीको दायरामा ल्याउन प्रहरी लाग्ने कार्कीको भनाइ छ ।
उनका अनुसार पछिल्लो समय विकराल बनेर गएको चोरी नियन्त्रणका लागि विशेष टोली गठन गरेर परिचालन गर्ने तयारी छ । भन्सार छली एवं तस्करी नियन्त्रणका लागि प्रहरीले सक्दो प्रयास गर्ने जानकारी उनले दिए ।
भन्सार चोरी तस्करीले मुलुकको राजस्व गुम्दै गएको र मुलुकमा आर्थिक समस्या देखिन थालेको उनको भनाइ छ ।
पछिल्लो समय ठूलो चुनौती बनेर गएको सवारी दुर्घटना न्यूनीकरणसहित अपराध गरेर लामो समयदेखि भागिरहेका फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता एसपी कार्कीले जनाए ।
‘प्रहरीले शून्य सहनशीलतामा काम गर्नुपर्छ । राम्रो गर्ने प्रहरीलाई पुरस्कृत गरिन्छ । गलत गर्नेलाई कारबाही हुन्छ,’ उनले भने, ‘अहोरात्र ड्युटीमा खटिने सबै प्रहरीका समस्याको सुनुवाइ हुन्छ । प्रहरी परिचालनलाई प्रभावकारी बनाइने छ । यसो गर्दा मात्रै नतिजा निकाल्न सकिन्छ ।’
कार्कीले सादा पोसाकमा खटाउने गरिएका ‘घुमुवा प्रहरी’समेत हटाएका छन् । प्रहरीमा एकरूपता ल्याउने र कुनै घटना हुनसाथ अनुसन्धानका लागि ‘स्पेशल टिम’ परिचालन गर्ने योजनाअनुरूप ‘घुमुवा प्रहरी’ हटाइएको उनको स्पष्टोक्ति छ ।
एसपी कार्कीले सबै खालका अपराधको सञ्जाल भत्काउने गरी नयाँ सुरक्षा योजना बनाएर लागू गरिने जानकारी दिए । ‘पछिल्लो समय सञ्जाल नै बनाएर अपराध गर्ने क्रम बढ्को पाइन्छ ।
नयाँ–नयाँ प्रविधि भित्रिएसँगै त्यसको प्रयोगले अपराध नियन्त्रण र अनुसन्धानमा चुनौती थपिएको छ,’ उनले भने, ‘अपराधको ‘चेन ब्रेक’ गर्नु प्रहरीको कर्तव्य हो । त्यही अनुरूप प्रहरीले आफ्नो दायित्व पूरा गर्छ ।’ अपराध नियन्त्रण र शान्ति सुरक्षामा कुनै सम्झौता नगरिने प्रतिबद्धता कार्कीले गरेका छन् ।
Discussion about this post