विराटनगर । मोरङमा विगतका अपराधमा संलग्न फरार प्रतिवादीलाई पक्राउ गर्न प्रहरीले सक्रियता बढाएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राखेर विशेष अभियान चलाएका छन् । कार्की यही फागुन ७ गते मोरङ प्रहरी प्रमुखका रूपमा हाजिर भएका थिए ।
त्यसयता मोरङ प्रहरीले फरार पक्राउ, लागूऔषध तथा चोरीलगायतका अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेर नयाँ सुरक्षा रणनीतिक योजना बनाइरहेको छ ।
प्रहरी सक्रियताकै कारण मोरङमा एकैदिन ठूलो संख्यामा फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले मंगलबार विभिन्न स्थानबाट ५९ जनालाई पक्राउ गरेर अदालतमा बुझाएको छ ।
एसपी कार्कीले समाजमा शान्ति सुरक्षाको अवस्था मजवुत बनाउने र अपराधरहित समाज निर्माण गर्ने उदेश्यसाथ फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।
अदालतले दोषी ठहर गरेपनि सजाय भुक्तान नगरिकन लामो समयदेखि प्रतिवादी फरार भइरहँदा र पक्राउ नपर्दा कानुन कार्यान्वयनप्रति अनेक आशंका उब्जिने गरेको छ ।
अपराधमा संलग्न भएर लामो समयदेखि फरार रहेकामध्ये ५९ जना प्रतिवादी एकैदिन पक्राउ परेको एसपी कार्कीले बताए । उनका अनुसार पक्राउ पर्नेमध्ये ८ जनालाई कैद र ५१ जनालाई जरिवानाको फैसला अदालतले यसअघि नै गरिसकेको छ ।
जबरजस्ती करणी, सवारी ज्यान, सवारी अंगभंग, ठगी, अभद्र व्यवहारलगायतका मुद्दामा दोषी ठहर भइसकेकाहरु पक्राउ परेका हुन् ।
लामो समयदेखि भागिरहेका प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाइएको जानकारी कार्कीले दिए । पक्राउ परेकाहरु कैद तथा जरिवाना भुक्तान नगरिकन भागिरहेका थिए ।
प्रहरीले पक्राउ गरेर बुझाएकामध्ये कैदको फैसला भएकाहरुलाई सजाय भुक्तानका लागि कारागार चलान गरिएको र जरिवानाको फैसला भएकाहरुलाई त्यसवापतको रकम असुलेर छाडिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए ।
प्रहरीका अनुसार अब मोरङबाट ३ हजार ६ सय ४ जना फरार प्रतिवादीलाई पक्राउ गर्न बाँकी छ । फरारको लगत संकलन गरेर धमाधम पक्राउ गर्न थालिएको एसपी कार्कीले बताए ।
उनका अनुसार फरार प्रतिवादीलाई पक्राउ गर्न अभियान चलाएर विशेष टोली खटाइएको छ ।
प्रतिवादीलाई पक्राउ गरेर अपराध गर्दा कानुनले कुनै पनि हालतमा छाड्दैनभन्ने सन्देश प्रहरीले प्रवाह गर्न खोजेको छ । अपराधमा संलग्नहरु खुलेआम हिँडडुल गर्दा र पक्राउ नपर्दा समाज भयभीत हुने तथा पीडित थप तनावमा पर्ने अवस्था थियो ।
पीडक पक्राउ नपर्दा अपराधबाट पीडित भएकाहरु झन् ठूलो तनावमा र त्रासमा पर्ने गरेको एसपी कार्की बताउँछन् ।
कानुन कार्यान्वयनप्रति आमसार्वसाधारणलाई सशंकित हुन नदिन र पीडितलाई न्याय दिलाउन विगतका अपराधमा संलग्नलाई पक्राउ गर्न प्रहरीले विशेष सक्रियता बढाएको हो ।
एसपी कार्की प्रतिवादी पक्राउ पर्दा पीडितले न्याय एवं राहतको महसुस गर्न पाउने र उनीहरु डर एवं भयबाट मुक्त हुने बताउँछन् ।
अर्कोतर्फ प्रहरीको कामकारबाहीप्रति समाजमा विश्वास बढ्ने र कानुन कार्यान्वयनको अवस्था मजवुत हुने उनको भनाइ छ । तर, लामो समयदेखि पीडक पक्राउ नपर्दा पीडित झन् ठूलो पीडामा पर्नुपर्ने वातावरण बनिरहेको थियो ।
एसपी कार्कीले कानुन कार्यान्वयन गर्ने निकायको सक्रियता र तदारुकताले नै समाजमा पीडितमैत्री वातावरण निर्माण हुने तथा अपराध कम हुँदै जाने उल्लेख गरे ।
पीडक खुलेआम हुने र पीडित तनावमै परिरहनुपर्ने अवस्था आउन नदिनु तथा समाजमा शान्ति सुरक्षाको अवस्था मजवुत बनाउनु प्रहरीको कर्तव्य हुने उनले बताए ।
उनले विगतका अपराधमा संलग्नहरुका बारेमा तत्काल प्रहरीलाई जानकारी दिन पनि सबैमा आग्रह गरेका छन् । फरार प्रतिवादीका बारेमा जानकारी गराउनेको विवरण गोप्य राखिने र प्रतिवादीलाई पक्राउ गरेर कानुनको दायरामा ल्याइने कार्की बताउँछन् ।
Discussion about this post