इटहरी । सुनसरीको इटहरीस्थित तरहरा आसपासका जङ्गलहरूमा काठ तस्करी गर्ने गिरोह सक्रिय भएको पाइएको छ ।
सामुदायिक एवं राष्ट्रिय वनबाट पछिल्लो समय बहुमूल्य सखुवा जातको काठ तस्करी भइरहेको हो । अन्य जातका काठ पनि तस्करी भएको पाइएको छ ।
इटहरी उपमहानगरपालिका–२० तरहरामा रहेको हाँसपोसा सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रबाट मिलेमतोमा काठ तस्करी हुने गरेको पछिल्लो घटनाक्रमले देखाएको छ । काठ तस्करीमा वन कर्मचारीकै भूमिका शङ्कास्पद देखिएको उपभोक्ता बताउँछन् ।
हाँसपोसा सामुदायिक र राष्ट्रिय वनबाट ट्याक्टरको प्रयोग गरेर तस्करी गरिएको काठ नजिकैको अर्को सामुदायिक वनमा भेटिएपछि घटना थप रहस्यमय बनेको छ ।
इटहरी–१९ स्थित ब्रह्मपुर सामुदायिक वनबाट ६ सय दशमलव ७४ क्वीफिट काठ बरामद भएको हो । तस्करको समूहले हाँसपोसा र राष्ट्रिय वनबाट तस्करी गरेर लगेको काठ ब्रह्मपुर सामुदायिक वनको ढोड घारीभित्र लुकाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
ब्रह्मपुर सामुदायिक वनको ढोड घारीभित्र विभिन्न साइजका सखुवाका १५ र कुम्भीका ६ वटा गोलिया फेला परेका छन् । त्योमध्ये सखुवाका ४ वटा गोलिया हाँसपोसा सामुदायिक वनबाट तस्करी गरेर पुर्याइएको हो । सखुवाका ११ र कुम्भीका ६ वटा गोलिया राष्ट्रिय वनबाट तस्करी गरेर लगेको पाइएको छ ।
हाँसपोसा सामुदायिक वनदेखि सखुवा जातको १ सय ९३ दशमलव ४५ क्वीफिट तथा राष्ट्रिय वनदेखि सखुवाको २ सय ३८ दशमलव ८४ र कुम्भीको १ सय ६८ दशमलव ४५ क्वीफिट काठ तस्करी गरेर ब्रह्मपुरको ढोड घारी पु¥याइएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।
काठ ३५ लाख मूल्य बराबरको रहेको वनका कर्मचारीहरू बताउँछन् । एउटा वनबाट तस्करी गरिएको काठ अर्को वनमा लगेर लुकाएको अवस्थामा फेला परेपछि खैलाबैला मच्चिएको छ ।
तस्करी गर्दै गरेको अरूले देखेपछि तस्करको समूह जङ्गलमै काठ छाडेर भागेको हुनसक्ने अनुमान छ । यद्यपि, काठ तस्करी गरेको प्रत्यक्ष देख्नेहरू अहिलेसम्म भेटिएका छैनन् ।
हाँसपोसा सामुदायिक वनबाट सखुवाको ढला पडा रुख हराएको पाइएपछि खोजी गर्दा ब्रह्मपुर वनमा गोलिया फेला परेको हो । त्यसपछि राष्ट्रिय वनबाट पनि काठ तस्करी हुने गरेको पत्ता लागेको थियो ।
तस्करको गिरोहले ब्रह्मपुर वनलाई ‘ट्रान्जिट पोइन्ट’ बनाएर काठ तस्करी गरिरहेको यकिन भएपछि उपभोक्ता समितिको भूमिकामाथि प्रश्न उठेको छ ।
काठ तस्करीमा सब डिभिजन वन कार्यालय तरहरा र ब्रह्मपुरमा सामुदायिक वनका पदाधिकारीको मिलेमतो रहेको आरोप लागेको छ । यस विषयमा प्रभावकारी अनुसन्धान गरेर तस्करको गिरोह पत्ता लगाउने प्रयास हालसम्म नहुनुले पनि अनेक आशङ्का उब्जिएका छन् ।
हाँसपोसा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष महेन्द्र गिरीले सखुवाको काठ हराएको भनेर वन कार्यालयमा निवेदन दिएका थिए । काठका गोलिया फेला परेपछि तस्करीमा संलग्न पत्ता लगाएर वन ऐनअनुसार कारबाही अघि बढाउन माग गर्दै गिरीले वन कार्यालयलाई पत्रसमेत पठाएका छन् । प्रहरीमा पनि उजुरी दिइएको छ ।
अध्यक्ष गिरीले घटनाको छानबिन र तस्करीमा संलग्नलाई कारबाहीको माग गरेर वन कार्यालय तथा प्रहरीमा उजुरी दिइसकिएको बताए । उनका अनुसार फागुन ४ गते वन उपभोक्ता समितिको निर्वाचन र ९ गते पदस्थापन थियो ।
उपभोक्तालाई काठ दाउरा निकासीका लागि ढला पडा, सुख्खा, खडा रुख निरीक्षण गर्न उपभोक्ता समितिको टोली फागुन १० गते बिहान सामुदायिक वन क्षेत्रमा गएको थियो । सामुदायिक वनको हस्तान्तरित क्षेत्रभित्र फागुन ११ गते निरीक्षण गरियो ।
उपभोक्ता समितिले काठ दाउरा निकासीका लागि प्रत्येक वर्ष रुख छपान, मूल्याङ्कन र कटान गर्ने गरेको छ । सुकेको रुख र ढलापडाबाट उपभोक्तालाई काठ दाउरा दिने गरिएको छ । गिरीका अनुसार वन निरीक्षणका क्रममा ठुलो फायर लाइनको उत्तरतर्फको खोल्सीमा सखुवाको रुख कटान गरेर लकडी गायब बनाइएको पाइएपछि तत्कालै सब डिभिजन वन कार्यालय तरहरामा जानकारी गराइयो ।
ब्रह्मपुर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मनोज तामाङसमेतलाई जानकारी दिएर हराएका गोलियाको खोजी थालिएको उनले बताए । गिरीका अनुसार अध्यक्ष तामाङले गोलियाहरू ब्रह्मपुर सामुदायिक वनभित्र फ्याँकेको अवस्थामा फेला परेको भनेर फागुन १३ गते मात्रै जानकारी गराएका थिए । तर, खोजीमा निस्किएको टोलीले त्यसको अघिल्लै दिन ब्रह्मपुरमा वनको ढोल घारीभित्र गोलियाहरू फेला पारिसकेको थियो ।
‘ब्रह्मपुरमा वनभित्र खोजी गर्ने क्रममा सुरुमा सखुवाको ७ वटा गोलिया फेला पर्यो । तर, त्यो हाँसपोसाबाट हराएका गोलिया हैनन् भन्ने पक्का भयो । त्यसपछि झन् खोजी तीव्र पारियो,’ गिरी भन्छन्, ‘त्यहाँबाट अलि तल सखुवाका थप ४ वटा गोलिया भेटिए । त्योबाट नजिकै अर्को ठाउँमा २–२ वटा छुट्टाएर राखेको अवस्थामा हाँसपोसाबाट हराएका ४ वटा गोलिया पनि फेला पारिएको हो ।
पूर्व–दक्षिणतर्फ साइडमा कुम्भीको ६ वटा गोलियासमेत भेटियो ।’ त्यसपछि मात्रै ब्रह्मपुर वनका अध्यक्ष तामाङले गोलियाहरू फ्याँकेको अवस्थामा भेटिएका छन् भनेर खबर गरेको गिरी बताउँछन् । तर, तामाङले गोलिया कसले ल्याएर लुकाएको हो भन्ने बारेमा आफूलाई जानकारी नभएको बताए ।
भेटिएकामध्ये सखुवाका ११ र कुम्भीका ६ वटा राष्ट्रिय वन तथा सखुवाका ४ वटा हाँसपोसा सामुदायिक वनबाट तस्करी गरेर लगिएको पत्ता लागेको अध्यक्ष गिरीको भनाइ छ । हाँसपोसा सामुदायिक वनका पदाधिकारी र वन रक्षकका कमान्डर कृष्णप्रसाद गेहलालसमेतले गोलियाहरू भेटिएको जानकारी सब डिभिजन वन कार्यालय तरहराका प्रमुख एवं वन अधिकृत दिनेशप्रसाद यादवलाई गराएका थिए ।
उपभोक्ता निर्वाचनमा व्यस्त भएको मौका छोपेर काठ तस्करी गरिएको गिरीको भनाइ छ । उनले यस विषयमा ब्रह्मपुर सामुदायिक वनले जवाफ दिनुपर्ने र यथार्थ पत्ता लगाउन सहयोग गर्नुपर्ने पनि बताए ।
हाँसपोसा वनबाट हराएका ४ वटा गोलिया मुचुल्का उठाउँदै फागुन १५ गते हाँसपोसामै ल्याएर घाटगड्डी गरिएको जानकारी गिरीले दिए । अरू गोलिया सब डिभिजन वन कार्यालयले लगेर राखेको छ । गिरीका अनुसार हाँसपोसा वनको सिमानामा राष्ट्रिय वन क्षेत्रभित्र एउटा सखुवाको रुखको फेद जलाएको अवस्थामा भेटिएको छ । तस्करको समूहले गोलिया लगिसकेपछि सखुवाको फेदमा भने आगो लगाइदिएको हुनसक्ने उनी बताउँछन् ।
काठ तस्करीको विषयलाई लिएर उपभोक्ताहरूले भने सब डिभिजन वन प्रमुख यादव र ब्रह्मपुरमा वनका अध्यक्ष तामाङलगायतका पदाधिकारीको भूमिका शङ्कास्पद रहेको आरोप लगाएका छन् । उनीहरूले यादव र तामाङसमेतको मिलेमतोमा काठ तस्करी गरिएको बताउँदै आएका छन् ।
दुवै जनाको नाम किटान गरेर स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा उजुरीसमेत दिएका छन् । घटनाको छानबिन गरेर सत्य तथ्य पत्ता लगाउँदै दोषीमाथि कारबाही गर्नुपर्ने र काठ तस्करी रोक्नुपर्ने माग उजुरीमा गरिएको छ । यादव र तामाङको मिलेमतोमा काठ तस्करी गरिएको भनेर किटानसहित उजुरी अख्तियारमा परेको हो ।
सब डिभिजन प्रमुख यादवले भने घटनाको अनुसन्धान भइरहेको बताए । ‘काठ तस्करीको विषयलाई लिएर सामुदायिक वनसँग बयान लिन्छौँ ।
विभिन्न कोणबाट अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउँछौँ,’ उनले भने, ‘मिलेमतोमा काठ तस्करी गरियो भनेर बजार हल्ला चलेको छ । त्यस्ता हल्लाका पछि लाग्न आवश्यक छैन ।’ काठ तस्करीमा आफ्नो संलग्नता पुष्टि भएमा जस्तोसुकै कारबाही भोग्न तयार रहेको यादवले बताए ।
Discussion about this post