विराटनगर । मोरङको इलाका प्रहरी कार्यालय नेमुवाले लागूऔषध गाँजासहित बूढीगंगाबाट दुई जना महिलालाई पक्राउ गरेको छ ।
घरमा गाँजा भेटिएपछि बूढीगंगा गाउँपालिका–२ की ३५ वर्षीया रिनादेवी सिंह र बूढीगंगा–५ की ४५ वर्षीया मुनिया खातुन पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय नेमुवाबाट वरिष्ठ सइ (वरिष्ठ प्रहरी नायव निरीक्षक) उमेश निरौलाको नेतृत्वमा खटिएको टोलीले सिंहलाई शुक्रबार साँझ र खातुनलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।
पक्राउ पर्नेमध्ये सिंहको घरबाट ५ किलोग्राम र खातुनको घरबाट १ किलोग्राम गाँजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार घरमा राखेर गाँजा बिक्री गर्ने गरेको विशेष सूचनाका आधारमा दुवै जनाको घरमा प्रहरीले छापा हानेको हो ।
प्रहरीले घर खानतलासी गर्दा प्लाष्टिकको बोरा र झोलाभित्र लुकाएर राखेको अवस्थामा गाँजा फेला परेको दाहालको भनाइ छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ । उनीहरुविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाइने डीएसपी दाहालले बताए ।
Discussion about this post