विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा भोलि (मंगलबार)देखि तेस्रो संस्करणको ‘इक्वालिटी कप क्रिकेट’ प्रतियोगिता हुँदैछ ।
नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा हुने ‘इक्वालिटी कप क्रिकेट २०२४’ यही फागुन २५ गतेसम्म चल्ने छ । आयोजकले सोमबार पत्रकार सम्मेलन गरेर विराटनगर महानगरपालिका–६ स्थित ज्वाला क्रिकेट मैदानमा प्रतियोगिता गरिने जानकारी दिएको छ ।
प्रतियोगिता टी–२० फम्र्याटमा हुने नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको सबै तयारी पूरा भएको छ ।
महिला क्रिकेटको विकास र प्रवद्र्धन गर्ने हेतुले आयोजना गरिएको प्रतियोगितामा कोशी प्रदेश र मधेस प्रदेशका चारवटा महिला टोलीको सहभागिता रहने श्रेष्ठले बताए । उनका अनुसार कोशीका मोरङ र इलाम तथा मधेसका सप्तरी र सिरहाका टिमले सहभागिता जनाउने छन् ।
जिल्ला क्रिकेट संघले छनोट गरेर पठाएका खेलाडीहरू सम्मिलित टोलीको सहभागिता प्रतियोगितामा रहने उनले बताए । अंक तालिकाको शीर्ष दुई टिम उपाधिका लागि भिड्ने श्रेष्ठको भनाइ छ ।
दैनिक बिहान १० बजे र दिउँसो १ बजे गरी दुईवटा खेल हुने छन् । पहिलो दिन बिहान १० बजे मोरङ र सप्तरी तथा दिउँसो १ बजे इलाम र सिरहा भिड्ने छन् । श्रेष्ठका अनुसार प्रतियोगिताको फाइनल खेल अन्तर्राष्ट्रिय महिला दिवसको दिन हुने छ ।
प्रतियोगिता सम्पन्न गर्न ५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । मुलुकमा महिला क्रिकेट प्रतियोगिता ज्यादै न्यून संख्यामा हुने भएकोले त्यसलाई ध्यानमा राखि राष्ट्रियस्तरमा दक्ष खेलाडी उत्पादनमा सहयोग पुर्याउन प्रतियोगिताको आयोजना गरिएको श्रेष्ठको भनाइ छ ।
Discussion about this post