विराटनगर – झण्डिएर आत्महत्या गरेका मोरङको धनपालथान गाउँपालिका ३ स्थित सीमा सुरक्षा बलमा कार्यरत सशस्त्र प्रहरी बलका डिएसपी (सशस्त्र प्रहरी नायव उपरीक्षक) उपेन्द्र बस्यालको शव परिवार आएपछि मात्र उठाउने भएको छ ।
धनपालथान गाउँपालिकामा प्रस्तावित सीमा सुरक्षा गुल्म सोराभागका इन्चार्जसमेत रहेका डिएसपी ४१ वर्षीय उपेन्द्र बस्याल दिउँसो २ः५५ बजेतिर मृत फेला परेका थिए ।
आफ्नो क्वार्टरनजिक रहेको भान्सा कोठाको भित्रबाट ढोकाको चुक्कुल लगाएर पङ्खामा प्लास्टिकको डोरीले पासो लगाई झुन्डिएको अवस्थामा बस्याल मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख नवराज कार्कीले बताए । एसपी कार्कीले अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्ने बताए ।
पाल्पाको तानसेन नगरपालिका–१ घर भएका डिएसपी बस्याल साढे ५ महिनादेखि प्रस्तावित सीमा सुरक्षा गुल्म सोराभागमा कार्यरत थिए । विवाहित बस्यालको परिवार पोखरामा बस्ने बस्दै आएको जनाइएको छ । बस्यालले किन आत्महत्या गरे भन्ने विषयमा अहिले सम्म कुनै तथ्य आउन सकेको छैन ।
घटनास्थलमा नेपाल प्रहरीको टोली खटाएर घटनाको अनुसन्धान सुरु गरिएको एसपी कार्कीको भनाइ छ । यता सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डिआइजी अन्जनीकुमार पोखरेललगायतका सशस्त्रका अधिकारी पनि घटनास्थलमा घटनाका बारेमा जानकारी लिएका थिए ।
Discussion about this post