मोरङ / मोरङको पथरीशनिश्चरेमा बालिकाको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न मोरङको ग्रामथान गाउँपालिका ४ का ३८ वर्षीय धीरेन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले हत्यापछि फरार बनेका चौधरीलाई बेलबारी स्थित भाउन्नेको जंगलबाट पक्राउ गरिएको बताए । चौधरीले बालिकाको हत्या गर्नुको कारण खुल्न बाँकी रहेको उनले बताए ।
चौधरीले घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले मंगलबार साँझ पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने तयारी गरेको छ ।
खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ सल्ले घर भएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको सोमबार राति निर्मम तरिकाले हत्या गरिएको थियो । ज्ञानमति पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित दाजु मामाको छोरा विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएको खुलेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार उनी पथरीशनिश्चरे–१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत थिइन् । ज्ञानमतिका मामाका छोरा विनोदले आफ्नो घरमा सुम्निमा होटल नामको खाजा नास्ता पसल पनि सञ्चालन गरेका छन् ।
२ वर्षअघि पहाडबाट झरेकी ज्ञानमति नास्ता पसलमा दाजुलाई सहयोग गर्दै उनकै घरमा बसेर पढ्ने गरेको डीएसपी दाहालले बताए । बुवा दानबहादुर राईको भने यसअघि नै निधन भइसकेको पाइएको उनको भनाइ छ ।
दाहालका अनुसार सुत्नुअघि शौचालय जाने क्रममा बसेकै घरको कम्पाउण्डमा राति १०ः३० बजेतिर चौधरीले धारिलो हतियार प्रहार गरेर बालिकाको बीभत्स तरिकाले हत्या गरेको पाइएको छ ।
‘पटक–पटक हतियार प्रहार गरेर निर्मम तरिकाले बालिकाको हत्या गरिएको छ । एकदमै बीभत्स अवस्थामा घरको परिसरमा शव भेटिएको छ,’ उनले भने, ‘घटनाको प्रकृति हेर्दा पछाडिबाट हतियार प्रहार भएको देखिन्छ । घटनासँग सम्बन्धित थप कुरा अनुसन्धानपछि खुल्छ ।’
हतियार प्रहारबाट गर्धन, अनुहार र दाहिने पाखुरामा गहिरो चोट लागेको अवस्थामा ज्ञानमतिको शव फेला परेको जानकारी दाहालले दिए ।
‘घर परिसरमै रहेको शौचालय जाने क्रममा बालिकामाथि हतियार प्रहार भएको भनिएको छ । चिच्याएको आवाज आएपछि हेर्दा बहिनीको ढुकढुकी मात्रै थियो भनेर दाजु विनोदले भनेका छन्,’ उनले भने, ‘दाजुले घटना थाहा पाएको केहीबेरमै उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उपचारका लागि अस्पतालसमेत लैजान भ्याएनछन् ।’ घटना हुँदा दाजु–भाउजू भने सुतिसकेको पाइएको उनको भनाइ छ ।
घटनाको अनुसन्धान र हत्यामा संलग्नलाई पक्राउ गर्न मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की आफैं फिल्डमा खटिएका थिए । प्रहरीले घटनाको अनुसन्धानमा तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको थियो ।
डीएसपी दाहालले मिहीन ढंगले विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको बताए । प्रहरीले घटनास्थलबाट उठाएर शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिसकेको छ ।
डीएसपी दाहालले पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा अनुसन्धान गर्न थप सहज हुने बताए । उनका अनुसार घटनास्थलबाट संकलन गरिएको सबुत प्रमाणलगायतलाई केलाएर अनुसन्धान अघि बढाइएको छ ।
Discussion about this post