झापा । संचारमाध्यमलाई सूचना सामाग्री उपलब्ध गराउन माग गर्दै प्रेस क्लब मेचीनगरले सोमबार मेचीनगर नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।
मंगलबारदेखि सुरु हुने ‘प्रथम मेचीनगर स्पोर्टस् मेनिया २०८०’ को प्रचारप्रसार गर्न नगरपालिकाले स्थानीय मिडियालाई सम्बोधन नगरेको भन्दै प्रेस क्लबले ज्ञापन पत्र बुझाएको हो ।
विज्ञापन प्रकाशन प्रशारण गरेबापत उपलब्ध गराउनुपर्ने रकमको दररेट नै उल्लेख गराउँदै क्लबका अध्यक्ष डम्बर बरालले नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई मागपत्र बुझाएको हो ।
प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालको नेतृत्वमा नगरपालिका पुगेको टोलीले नगर क्षेत्रमा यत्रो भब्यताका साथ आयोजना हुन लागिरहेको खेल उत्सवमा पनि संचारमाध्यमलाई सम्बोधन नगरेको गुनासो गरेका थिए । ‘खेलकुद क्षेत्रको विकासका लागि नगरपालिकाले ५३ लाख भन्दा बढीको लगानीमा संचालन हुने खेलकुद उत्सवलाई भब्य रुपमा प्रचारप्रसार गरी सफल बनाउन राज्यको चौथो अंग र संचारमाध्यमको सहयोग आवश्यक हुन्छ भन्ने कुरा बिर्सन हुँदैन’, प्रेस क्लबका अध्यक्ष बरालद्वारा हस्ताक्षरित मागपत्रमा उल्लेख छ ।
प्रेस क्लबले नगरपालिकामा मागपत्र बुझाउँदा नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, सामाजिक बिकास प्रमुख हृदय राजबंंशी, खेलकुद बिकास समिति मेचीनगरका उपाध्यक्ष रबिन ओझा, अग्रज पत्रकार मोहन काजीलगायत विभिन्न संचारमाध्यममा कार्यरत संचारकर्मीको सहभागीता रहेको थियो ।
ज्ञापनपत्र बुझेपछि सम्बोधन गर्दै मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकीले संचारमाध्यमको गुनासोलाई सम्बोधन गर्न अधिकृत अनन्तप्रकाश वस्तीलाई निर्देशन दिएका थिए । सो क्रममा वस्तीले नगरपालिकाले गठन गरेको मेचीनगर संचार प्रतिष्ठानमार्फत विज्ञापन उपलब्ध गराउने जवाफ दिएका थिए ।
संचार प्रतिष्ठानले संचारमाध्यमहरुको नाम र दररेट नै बुझाइसकेकाले सोही अनुरुप विज्ञापन उपलब्ध गराउने उनको भनाई थियो ।
एकातिर निर्वाचनपछि मेयर गोपालचन्द्र बुढाथोकीले कार्यभार सम्हालेलगत्तै संचारसम्बद्ध मिडियाले स्थानीय सरकारले उपलब्ध गराउँदै आएको सूचना र बिज्ञापनको भुक्तानी रोक्दै आएको भने अर्कातिर कर्मचारीको कमिशन सेटिङमा केही संचारमाध्यमलाई मात्रै बिज्ञापन प्रकाशन(प्रशारण गर्न दिएको पाइन्छ ।
स्थानीय संचारमाध्यमलाई एकद्वार प्रणालीबाट सूचना प्रकाशन गरी समेट्ने उद्देश्यले एकवर्ष अघि पहिलो पटक मेचीनगरमा संचार प्रतिष्ठान गठन गरिएको थियो । प्रतिष्ठान गठनपछि पनि उद्देश्यअनुसार संचारमाध्यमलाई समेट्न नसकेको भन्दै त्यहाँ संचालित सञ्चारमाध्यमले पटकपटक नगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै आएको छ ।
कोभिड १९ पछि आर्थिकमन्दीको असर उद्योग(ब्यवसायमा परेपछि त्यसको प्रत्यक्ष प्रभाव संचारसम्बद्ध उद्योग र त्यसमा कार्यरत सञ्चारकर्मीलाई पर्दै आएको छ ।
Discussion about this post