विराटनगर । मोरङको बेलबारीमा सोमबार दिउँसो आगलागी भएको छ । आगो निभाउने क्रममा जलेर एकजना बालक घाइते भएका छन् ।
बेलबारी नगरपालिका–४ स्थित गोपाल थापाको घर र गोठमा आगलागी भएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । थापाको गोठबाट दिउँसो १२ बजेतिर अचानक आगलागी सुरु भएको थियो । आगोले गोठनजिकै रहेको घरमा पनि क्षति गरेको हो । घरको आधा पाटो जलेको छ ।
एसपी कार्कीका अनुसार आगोले गोठ तथा घरको आधा पाटोसहित अन्नपात, लत्ताकपडा जल्दा ३ लाख बराबरको क्षति भएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने उनले बताए ।
उनका अनुसार आगो निभाउने क्रममा जलेर १४ वर्षीय निमेष थापा घाइते भएका छन् । घाइते बालक घरधनी गोपाल थापाका नाति हुन् । हात, खुट्टा, ढाडलगायत शरीरका विभिन्न भागमा चोट लागेका निमेषलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
गोठभित्र रहेको एउटा राँगोसमेत आगोले जलेर घाइते भएको छ । प्रहरी, स्थानीय र दमकलको सहयोगमा दिउँसो १ बजेतिर आगो नियन्त्रणमा लिइएको थियो । इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।
Discussion about this post