नुन किन्न १५ सयभन्दा बढी खर्चेर, पूरा एक दिन हिँडेर सदरमुकाम मान्म धाउनुपर्ने बाध्यता हटेपछि कालिकोटको महावै गाउँपालिकाका स्थानीय खुसी भएका छन्
कालिकोट – कालिकोटको महावै गाउँपालिका बिर्तामोडका जर्मा सिंहको मुहारमा शुक्रबार बेग्लै चमक थियो । नहोस् पनि किन, १५ सयभन्दा बढी रुपैयाँ र पूरै एक दिन खर्चेर हिँड्दै सदरमुकाम मान्म पुगेपछि मात्र नुन देख्न पाउने जर्माले शुक्रबार घरनजिकै खुलेको डिपोबाट पाँच किलो नुन पाएकी थिइन् ।
उनको जस्तै खुसी पंख थापाको अनुहारमा पनि देखिन्थ्यो । वर्षौँपछि गाउँमा नुन पाउँदा केहीबेर उनलाई पत्यारसमेत लागेन । पछि उनले पनि एक किलोका पाँचवटा प्याकेट हातमा थापे । ‘यति नुन लिन एक दिन हिँडेर सदरमुकाम मान्म धाउनुपर्ने बाध्यता छ । एकपटक सदरमुकाम जाँदा–आउँदा १५ सयभन्दा बढी पैसा खर्च हुन्छ । यस्तोमा गाउँमै नुन पाएपछि खुसी नलाग्ने कुरै भएन,’ पंखले नयाँ पत्रिकासँग भने ।
‘आयोडिनयुक्त नुन गाउँमा नै उपलब्ध गराउन र नुन लिन सदरमुकामसम्म धाउनुपर्ने स्थानीयलाई राहत दिन पालिकाको पायक पर्ने ठाउँबाट वितरण गरेका हौँ,’ उनले भने, ‘तर, अहिले यो व्यवस्था अस्थायी मात्र हो ।’ उपाध्यक्ष दानसिंह सेजुवालले साल्ट ट्रेडिङ कर्पोरेसनको कालिकोट शाखा कार्यालयसँगको समन्वयमा गाउँपालिकाले गाउँमा अस्थायी डिपो स्थापना गरेर सेवा दिएको बताए ।
‘पालिका प्रमुखहरूसँगको बैठकमा नुन लिन चाहने पालिकाले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिने र आफ्नो पालिकाका नागरिकलाई गाउँमै नुन वितरण गर्ने समन्वय गर्ने निर्णय भएको थियो,’ प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले नयाँ पत्रिकासँग भने । उनका अनुसार हालसम्म नरहरिनाथ, महावै, शुभकालिका, सान्नीत्रिवेणी गाउँपालिकाले निवेदन दिएका छन् भने पलाँता गाउँपालिकाले पनि पालिकामै नुन वितरणको लागि प्रक्रिया अघि बढाएको छ ।
कालिकोटका सबै पालिकामा नुनको डिपो स्थापनाका लागि निर्णय गरेर मन्त्रालयसम्म पठाएको प्रजिअ नेपालीले जानकारी दिए । ‘पालिकामा नुनको डिपो स्थापनाका लागि यहाँका राजनीतिक नेतृत्वले पनि पहल गनुपर्नेछ । सबैको पहल सार्थक हुन सके नुन लिन विकट गाउँबाट मान्म धाउनुपर्ने नागरिकको समस्या सधैँका लागि समाधान हुने थियो,’ उनले भने ।
यो समाचार आजको नयापत्रिका दैनिकमा प्रकाशित छ ।
Discussion about this post