काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकणमा मुछिएका नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका छन् ।
जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को समन्वयमा जिल्ला सरकारी वकिलको कार्यालयमा बिहीबार बिहान बयान दिएपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका हुन् ।
आफू सीआईबीमा बयानका लागि उभिँदा विश्वभर गलत सन्देश गएको उनले दाबी गरे ।
‘म जत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदा नेपालभरीका र विश्वभरीका युवा, नेपालका रोजगारदाता, करदाताहरूले कुन सन्देश आफ्नो मनमा लिएर जाने हुन् भन्ने हेक्का राज्यले राख्नुपर्ने हो ।
मैले मेरो ४५ वर्षको यात्रापछि आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन । त्यो पनि खास गरिकन स्टन्ट गर्नेहरूलाई ।’ उनले भने ।
चौधरीले आफूमाथि गरिएको अनुसन्धानलाई ‘राजनीतिक स्टन्ट’ को संज्ञा दिए । चौधरीले एउटा उद्यम र उद्यमीमाथि राजनीतिकरण गर्न खोजिएको गुनासो गरे । ‘ममाथि अनुसन्धानका बारेमा संसदलाई जानकारी गराएको पत्र जुनरूपले सञ्चारमाध्यममा रंगिए, त्यसबाट यो स्टन्ट के उद्देश्यका लागि गरिएको हो भन्ने प्रष्ट भएको छ,’ उनले भने, ‘हालाकी मैले यो विषयमा प्रश्न उठ्ने वित्तिकै दलको बैठकमा आफ्नो संक्षिप्त कुरा राखेँ ।
त्यसपछि ममाथिको अनुसन्धानको कुरा चल्नेवित्तिकै संसदको रोस्टममा उभिएर निर्वाचित सांसदका हैसियतले आफ्ना कुरा राखेँ ।’
Discussion about this post