इटहरी- सुनसरीको इटहरीमा जारी इटहरी गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौँले हात पारेको छ ।
शनिवार इटहरी रंगशालामा भएको फाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले उपाधि हात पारेको हो ।
चर्च ब्वाइजका लागि खेलको ४ मिनेटमै राजेश परियारले गोल गरे । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि चर्च ब्वाइजले १४ औँ संस्करणको इटहरी गोल्डकपको उपाधि हात पारेको हो ।
निर्धारित समयमा दुवै टिमबाट गोल गर्ने पटक पटक अवसर आए पनि गोल हुन सकेन । दुवै टिमबाट गोल हुन नसकेपछि उनै राजेशले गरेको गोल नै चर्च ब्वाइजका लागि निर्णायक गोल बन्दै इटहरी गोल्डकपको उपाधि हात पार्न सफल भएको हो ।
खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका राजेश परियार घोषित हुँदै नगद १० हजार प्राप्त गरे ।
यसै गरी विधागततर्फ उदयी मान खेलाडीतर्फ राजा क्लबका सुमित चौधरी घोषित हुँदै जुत्ता र मेडल प्राप्त गरे । यस्तै, इटहरीबाट लामो समयसम्म खेल क्षेत्रमा योगदान पुर्याएका उमेश कार्कीलाई नगद ११ हजारसहित पुरस्कृत गरियो ।
यसै गरी खेल अवधिभर उत्कृष्ट गोल गर्ने सगरमाथा यूथ क्लब मोरङका विमल घर्ती मगर घोषित भए । उनले खेल अवधिभर २ गोल गरेका थिए । उनलाई नगद २५ हजारसहित पुरस्कृत गरियो ।
यस्तै, वेस्ट फरवार्डमा आर्मीका नवयुग श्रेष्ठ, वेस्ट मीड फिल्डरमा चर्च ब्वाइजका सुरजजीउ ठकुरी, वेस्ट डिफेन्समा आर्मीका जीतेन्द्र कार्की, उत्कृष्ट गोलरक्षकमा चर्च ब्वाइजका दीप कार्की, उत्कृष्ट प्रशिक्षकमा चर्च ब्वाइजकै दर्शन भक्तराज घोषित भए ।
उनीहरूलाई जनही २० हजारसहित मेडल प्रदान गरियो । यसै गरी सर्वोत्कृष्ट खेलाडीमा राष्ट्रिय जागृति क्लब (राजा) का मनोज दनुवार घोषित हुँदै नगद एक लाखसहित मेडल प्राप्त गरे ।
खेलको विजेता चर्च ब्वाइजले नगद १० लाखसहित ट्रफी हात पारेको छ भने उपविजेता आर्मीले नगद पाँच लाखमा चित्त बुझाएको छ ।आयोजक राष्ट्रिय जागृति क्लब (राजा)का अध्यक्ष सन्त डुम्जनका अनुसार अघिल्लो शनिवारदेखि भएको प्रतियोगितामा भारतसहित आठ टिम सहभागी थिए ।
विजेता तथा उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि कोसी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्की, इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेलगायतले पुरस्कार वितरण गरेका थिए ।
Discussion about this post