काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार चयन लगायतका विषयमा छलफल गर्न चैत्र २० गते मंगलबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै कार्य सम्पादन समितिको बैठकबारे जानकारी गराएका हुन् ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८० चैत्र २० गते मंगलबार दिउँसो २ः०० बजे सभापति श्री शेरबहादुर देउवाको निजी निवास, बुढानिलकण्ठमा बस्ने भएको छ ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’विज्ञप्तिमा भनिएको छ ।
आउँदो बैशाख १५ गते इलाम २ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ मा प्रदेश सभा सदस्य चयनका लागि उपनिर्वाचनको मिति तय भएपनि कांग्रेसले आफ्नो उम्मेदवार चयन गर्न सकेको छैन् ।
अन्य प्रतिस्पर्धी दलहरुले उम्मेदवार टुङ्ग्याएर चुनावी अभियानमा जुटेपनि कांग्रेसले उम्मेदवार चयन गर्न सकेको छैन् ।
इलाम २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो। त्यस्तै, गत असार २५ गते सुदूरपश्चिम प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि बझाङ १ को प्रदेश सभा सदस्य पद रिक्त भएको हो ।
Discussion about this post