काठमाण्डौ । अर्थमन्त्री भएपछी बधाई दिन मन्त्रालय पुगेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले धरानबासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन् ।
मन्त्री पुनले धरानको खानेपानी समस्याबारे आफूलाइ सबै जानकारी रहेको बताएका छन् । उनले खानेपानीको दुःखले कतिपय सर्वसाधारण धरानबाट बसाइँ सरेर अन्यत्र गएकोसमेत आफूले सुनेको उल्लेख गरेका छन् ।
अर्थमन्त्री पुनले सरकारले जनतालाई स्वच्छ खानेपानीको व्यवस्थापन गर्न योजना बनाएको साम्पाङसंगको भेटमा बताएका छन् । धरान धेरै राम्रो र सुन्दर सहर हो, त्यहाँ म केही समय बसेको पनि छु’, पुनले भने, ‘खानेपानी समस्याबारे जानकारी छ । यो बजेटमार्फत केही न केही समाधान खोज्ने प्रयास हुनेछ ।
मन्त्री पुनले खानेपानी आयोजनाको माग सम्बन्धित मन्त्रालयबाट आउनुपर्ने भएकाले खानेपानी तथा सरसफाइ मन्त्रालयसँग पनि कुरा गर्न साम्पाङलाई सम्झाएका छन् ।
भेटका क्रममा मेयर साम्पाङले धरानबाट करिब १५ किलोमिटर दूरीमा पर्ने चतरास्थित सप्तकोसी नदीबाट लिफ्टिङ गरी पानी ल्याउन सकिने विकल्पबारे मन्त्री पुनलाई अवगत गराएका छन् ।
उक्त आयोजनाका लागि करिब ५ अर्ब बजेट आवश्यक पर्ने प्राविधिक अनुमान गरिएको साम्पाङले अर्थमन्त्री पुनलाई बताएका छन् ।
Discussion about this post