विराटनगर । मच्छिन्द्र फुटबल क्लब विराटनगरमा जारी आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ ।
सहिद रंगशालामा बिहीबार राति सम्पन्न अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली सिक्किम ड्रागन भारतको चुनौती १–० गोल अन्तरले पन्छाउँदै मच्छिन्द्र उपाधि होडमा पुगेको हो । सिक्किमविरुद्ध कठिन जित निकाल्दै मच्छिन्द्रले फाइनलमा घरेलु टोली साङ्ग्रिला मोरङ एफएसँगको भेट पक्का गरेको छ ।
गोल्डकपको उपाधि रक्षाका लागि मच्छिन्द्र र साङ्ग्रिलाबिच आगामी शनिवार फाइनल स्पर्धा हुने छ । साङ्ग्रिला बुधवार विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।
मच्छिन्द्रको जितमा आयुष घलान नायक बने । प्लेयर अफ दी म्याच उनले ९४ औँ मिनेटमा निर्णायक गोल गर्दै टिमको जित निश्चित गरेका हुन् । घलानले ११ हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् ।
वैकल्पिक खेलाडी मनिष डाँगीले निकालेको क्रस पासलाई सदुपयोग गर्दै उनले आकर्षक गोल गरेर बललाई जाली चुमाएका हुन् । मध्यान्तरपछि हिसब थपलियाको ठाउँमा डाँगी मैदान प्रवेश गरेका थिए ।
खेलमा दुवै टिमको फिनिसिङ कमजोर रहयो । पाएका महत्त्वपूर्ण अवसर सदुपयोग गर्न सकेनन् । आदर्श तामाङले ९ औँ मिनेटमा ३० यार्डदेखि गरेको कडा प्रहारले पोस्टको बाटो तय गर्न नसक्दा सिक्किम सुरुवाती गोल गर्नबाट चुकेको थियो । ३२ औँ मिनेटमा मच्छिन्द्रका विदेशी खेलाडी एनडे«सले डी–बक्स भित्रबाट गरेको प्रहारमा सिक्किमका गोलरक्षक प्रिसो बाधक बने । लगत्तै उनको प्रहार फ्रेमभित्र पर्न सकेन ।
पहिलो हाफको थप गरिएको समयमा हिसब थपलियाको प्रहारमा सिक्किमका गोलरक्षक बाधक बन्दा मच्छिन्द्रले अग्रता लिन सकेन । पहिलो हाफ गोलरहित बराबरीमा सकियो । ५२ औँ मिनेटमा मच्छिन्द्रका एनडे«सको प्रहार बाहिरियो । मच्छिन्द्रका आयुष घलानले ७८ मिनेटमा डी–बक्स भित्रबाट गरेको प्रहारलाई सिक्किमका गोलरक्षकले विफल पारिदिए ।
८९ औँ मिनेटमा आदर्श तामाङले पेनाल्टी एरियाबाट गरेको प्रहारले पोस्टको दिशा तय गर्न नसक्नु सिक्किमका लागि दुर्भाग्यपूर्ण बन्यो ।
सिक्किमका प्रशिक्षक कुन्जन भुटियाले खेलाडीहरूको फिनिसिङ पक्ष कमजोर हुँदा पराजय बेहोर्नु परेको बताए ।
‘निर्धारित ९० मिनेटपछि थप गरिएको समयको अन्तिम एक मिनेट लेफसाइट कमजोर हुँदा गोल खानुपर्यो । त्यो हाम्रो कमजोरी पक्ष भयो,’ उनले भने, ‘अन्तिम समयमा आएर खेलाडीहरू सम्हालिन सकेनन् । पराजयको कारण यही हो ।’
मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले पहिलो हाफमा थुप्रै अवसर गुमाएका कारण जित निकाल्न थप गरिएको समयसम्म पर्खनु परेको बताए । दोस्रो हाफपछि रणनीति परिवर्तन गरेर विपक्षीलाई दबाबमा राख्न सकेका कारण खेल मच्छिन्द्रको पक्षमा परेको उनको भनाइ छ ।
‘हाम्रो फिनिसिङ सोचेजस्तो भएन । त्यसैले जित निकाल्न अन्तिम समयसम्म पुग्नु प¥यो,’ न्यौपानेले भने, ‘अन्तिम स्पर्धामा उत्कृष्ट प्रदर्शन गरेर उपाधि रक्षा गर्छौँ । फाइनलमा विमल घर्ती मगरलाई मैदानमा उतार्ने प्रयास रहने छ ।’
गोल्डकपमा पुरस्कार बापत विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पाउने छन् । उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने छन् ।
Discussion about this post