दाङ / लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन्। आइतबार प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री महरालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
नवनियुक्त मुख्यमन्त्री महराले आइतबार सानो आकारमा मन्त्रिमण्डल गठनको तयारी गरेका छन्। जिम्मेवारी पछि तोकिने गरी उनले तीन जना मन्त्री थपेर सानो आकारको मन्त्रिपरिषद् गठन गर्न थालेका हुन्।
एमालेबाट दल उपनेता चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दिपेन्द्र पुन र जसपाबाट भण्डारी लाल अहिर मन्त्री बन्दै छन्। पहिलो चरणमा तीन जना मन्त्रीले शपथ लिने र मुख्यमन्त्रीले विश्वासको मत लिएपछि थप मन्त्री नियुक्त गरिने जनाइएको छ।
Discussion about this post