इटहरी । उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनले इटहरीको माहोल तातिएको छ । उमेदवारहरु भोट माग्दै नतिजा आफ्नो पक्षमा पार्न लागि परेका छन् । उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा अध्यक्षका लागि ४ जनाबिच प्रतिष्पर्धा हुदै छ । अन्य निर्वाचनको तुलनामा यसपटक केही फरक दृष्यहरु देखिएका छन् । यसपटक अध्यक्ष पदका लागि २ पुरुष र २ महिला गरि ४ जनाको प्रतिष्पर्धा हुन लागेको हो ।
बिगतमा पार्टीगत प्रतिष्पर्धाकै रुपमा हेरिने उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा यसपटक भने केही भिन्नता देखिएको छ । नेकपा एमाले इटहरीले अध्यक्षकी उमेदवार रञ्जु सिग्देललाई समर्थन गरेको छ । यता कांग्रेसमा आस्थावान २ विचमै प्रतिष्पर्धा देखिएको छ । नेपाली कांग्रेस इटहरी नगर शभापति हेमकर्ण पौडेलले गायत्री कट्वालको समूहलाई मत माग्दै बिज्ञप्ती नै जारी गरेको थियो । यता नेपाली कांग्रेसकै अर्को समूहले नगरको निर्णय अमान्य भएको भन्दै अध्यक्षकारुपमा जीवन पराजुलीलाई अगाडी सारेको थियो । यसरी हेर्दा नेपाली कांग्रेस भित्रै २ धार देखिएको छ ।
तिनै जना प्यानल सहित प्रतिष्पर्धामा रहदा यता मणिन्द्रकुमार कट्वालले भने स्वतन्त्र उमेदवारी दिएका छन् । आफ्नै दल नोपली कांग्रेसको पूर्ण समर्थन पाउन नसकेका अध्यक्षका उमेदवार जीवन पराजुली समूहलाई अन्य विभिन्न दलहरुले खुलेर साथ दिएका छन् । पराजुली समूहलाई नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,राप्रपा नेपाल,राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी साथै स्वतन्त्र व्यवसायी समूह लगायतले समर्थन गरेका छन् ।
संयुक्तरुपमा बिज्ञप्ती नै जारी गरेर उनीहरुले पराजुलीलाई समर्थन गरेको उल्लेख गरेका छन् । होटल व्यवसायी संघ इटहरीका अध्यक्ष समेत रहेका पराजुलीको सकृयता र काम गर्ने क्षमतालाई मुल्यांकन गरेर नै उनको समूहलाई समर्थन गरिएको उनीहरुले बताएका छन् । इटहरीका अधिकांश व्यवसायीहरुसँग सुमधुर सम्बन्ध स्थापित गर्न सफल भएका कारण पनि पराजुलीले जीत्न सक्ने आधारहरु धेरै रहेको व्यवसायीहरुले बताएका छन् ।
Discussion about this post