धनकुटा – हिन्दुशास्त्रले भन्छ– अस्वत्थः पूजितोयत्र पूजिताः सर्व देवता १
अर्थात् पीपलको पूजा गर्दा सबै देवताको पूजा गरेसरह फल मिल्छ। त्यही विश्वासमा शनिबार बिहानै पीपलको बोटमा पानी चढाउने धार्मिक मान्यता छ। तर, आज शनिबार बिहानैको यो अंकमा हामी यस्तो अप्रिय खवर छाप्दैछौं, जहाँ देख्नु हुनेछ– मानिसले कसरी त्यही आस्थाको धरोहर पीपल–वर छ्यामछ्याम्ती काटिरहेका छन् रु शीतल दिने चौतारी निर्ममतापूर्वक मासिरहेका छन्।
सहरी क्षेत्र होस् वा गाउँघर, कुनै बेला भेला र छलफल हुने थलोको रूपमा परिचित थियो, वरपीपल चौतारा। विशेषगरी पहाडी क्षेत्रमा पैदल हिँड्ने बाटोहरूमा वरपीपल चौतारा देख्न पाइन्थे। कतिपय ठाउँ त वरपीपलकै नामबाट पनि चिनिन्छन्।
सबै बटुकलाई छहारी दिने यस वृक्ष धार्मिक तथा वातावरणीय हिसाबले निकै महत्त्वपूर्ण मानिन्छ। यसको आकार त ठूलो हुन्छ नै। आयु पनि निकै लामो हुन्छ। अन्य वृक्षभन्दा ठूलो भएकै कारण यसले वातावरणमा रहेको कार्बनडाइअक्साइड ग्यासको बढी मात्रामा खपत गर्छ। अक्सिजन पनि उत्तिकै बढी मात्रामा उत्पादन गर्छ। यसैकारण वरपीपल वृक्ष आसपासको क्षेत्रमा प्रवाह हुने हावामा अक्सिजनको मात्रा अत्यधिक हुन्छ। अनि यसले हावा स्वच्छ बनाउँछ।
तीव्र अतिक्रमण
पछिल्लो समय यही वृक्षले सौन्दर्य बढाएको वरपीपलको चौतारा अतिक्रमणको चपेटामा पर्न थालेका छन्। धनकुटामा पनि ठूला वरपीपलका रुख काट्ने क्रम बढ्दै गएको छ। सहरी क्षेत्रमा त झन् तीव्र गतिमा वरपीपलका रुख काटिन थालेका छन्। गाउँघरमा पनि ठूला घरका छेउछाउँका वरपीपलका बोट काटिएका छन्।
वरपीपलका रुख अन्य प्रजातिका रुखभन्दा विशाल हुन्छ। यसका हाँगा ठूलो क्षेत्रमा फैलिएका हुन्छन्। रुखका हाँगाबाट घर बस्ती तथा निर्माण गरिएका पूर्वाधारहरूमा जोखिम हुने भन्दै काटिन थालेका हुन्। साँघुरा बाटाहरू फराकिलो बनाउने निहुँमा पनि वरपीपलका रुख काटिएका छन्।
अक्सिजन र शीतलता दिएर मानिसको प्राण बचाउन सहयोग गर्ने वरपीपल मानिसबाटै अतिक्रमणको चपेटामा परेको नेपाल पत्रकार महासंघ धनकुटा शाखाका निवर्तमान अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले बताए। उनका अनुसार गाउँठाउँका चोक तथा सार्वजनिक स्थानको पहिचान पाएको वरपीपलका चौतारा अतिक्रमणका कारण विनाशको चपेटामा मात्र परेका छैनन्, ती स्थानको सौन्दर्यसमेत हराएका छन्।
धनकुटा सदरमुकामका अधिकांश वरपीपलका चौतारा मासिएका छन् भने जोखिम ठानिएका वरपीपलका हाँगा काटेर ठुटा बनाइएको छ। धनकुटा–६ मा निकै चर्चित एक चौतारा अहिले देखिँदैन। केही समयपहिले यसको संरक्षण गरिएको भए पनि रुख आफैं सुकेर जोखिम भएको भन्दै पछि काटिएका थियो। सदरमुकामकै बीच बजारमा रहेको चौतारा पनि मासिएको छ। अहिले त्यहाँ घरहरू बनेका छन्। चौताराको नामोनिशान भेटिँदैनन्।
यलम्बर चोकमा रहेको वरपीपलको चौतारा अहिले छैन। बाटो विस्तार र घरहरू बन्न थालेपछि त्यहाँको चौतारा मासिएको स्थानीय सञ्जयसन्तोषी राईले बताए। टुँडिखेल आसपासका क्षेत्रमा वरपीपलका रुख थिए। त्यहाँ चौतारा थिए। तर अहिले छैनन्। गोकुण्डेश्वर बालमन्दिर विद्यालयको गेटैमा रहेको वरको रुखको हाँगा काटेर ठुटै बनाइएको छ। अर्कोतिर रहेको पीपलको अवस्थामा पनि उस्तै छ।
सदरमुकाममा थिए चौतारै चौतारा
कुनै बेला धनकुटा सदरमुकामभरि चौतारैचौतारा थिए। ‘जहाँ वरपीपल, त्यहाँ चौतारा’ भन्ने उखान नै प्रचलित थियो। पछिल्लो समय धनकुटा बजारका अधिकांश वरपीपल मासिइसकेका छन्। कतै वरपीपल देखिँदैनन्। वरपीपल मासिएसँगै चौतारा पनि मासिएका छन्। मासिएका ठाउँमा पार्क निर्माण भएका छन्।
धरान–धनकुटा सडक बन्नुअघि ढाकरहरू सामान बोकेरै आउजाउ गर्थे। २०३३ सालमा बाटो निर्माण सुरु भएको हो। त्यसभन्दा अघि ढाकरहरू पहाडबाट सामान बोकेर धरान झर्थे। धरानबाट नुनलगायत सामग्री बोकेर पहाड चढ्थे। धनकुटा–६ सिरान बजारका स्थानीय मनोजनारायण श्रेष्ठका अनुसार मूलघाटदेखि धनकुटा सदरमुकामका धेरै स्थानमा वरपीपलका चौतारा थिए। अहिले केही ठाउँका चौतारा मासिएका छन् भने केही मात्र अहिले पनि छन्।
मूलघाटदेखि धनकुटा सदरमुकामतर्फको भौगोलिक बनावट उकालो छ। हरेक एकदेखि दुई घण्टाको दूरीमा चौतारा बनेका थिए। चौतारामा बसेर ढाकरहरू भारी बिसाएर थकाइ मार्थे। खानेकुरा पकाएर खान्थे। मूलघाटदेखि माथिल्लो टेकुनालाभन्दा केही तल रमिते चौतारा छ। टेकुनालाभन्दा माथि घुमाउने चौतारा छ। यहाँ वर र पीपल छन्।
पैदलमार्गमा पर्ने भएकाले गर्दा यहाँ धरान–धनकुटा सडक बन्नुअघि बजार लाग्थ्यो। ढाकरको आउजाउ र स्थानीय बासिन्दाको सानातिना पसलले यहाँ भरिभराउ हुन्थ्यो। घुमाउने चौतारा संरक्षण अभावले जीर्ण हुँदै गएको थियो। तर स्थानीय सरकारको पहलमा अहिले चौतारालाई मर्मतसम्भार गर्दै पार्क निर्माण गरिएको छ। पार्कले घुमाउने चौताराको संरक्षणमात्र भएको छैन आन्तरिक पर्यटकको चहलपहलसमेत बढाएको छ।
धनकुटा नगरपालिका वडा नं। ६ सिरान बजारको शिरमा लहरे चौतारा छ। यहाँ वर र पीपलका लस्करै ६-७ वटा रुख थिए। आसपासका क्षेत्रमा पाटीपौवाहरू पनि थिए। स्थानीय सोपाल राईको घरमा पाटी थियो। ढाकरहरू त्यहाँ आएर बास बस्थे। धेरै ढाकरहरू हुँदा बस्ने ठाउँको अभावले चौतारामा बास बस्थे।
मनोजनारायणका अनुसार हिमाली क्षेत्रका शेर्पाहरू जुडीबुटी, छुर्पी लिएर तराई झर्दा लहरे चौतारामा बास बस्ने गर्थे। उनीहरू चौतारामा बसेर खाना पकाउँदै बास बसेको आफूले देखेको उनी सम्झन्छन्। चौतारा मासिएपछि भेटघाट गर्ने, भलाकुसारी, गफगाफ गर्ने संस्कृति हराउँदै गएको धनकुटा–६ का स्थानीय नवीनकिशोर शाक्यले बताए।
सार्वजनिक स्थानको पहिचान दिन्थे
वरपीपलले धनकुटा सदरमुकामसहित विभिन्न सार्वजनिक स्थानको पहिचान दिलाएको थियो। नामकरण गराएको थियो। वरपीपलले चिनाएका कतिपय स्थानको पहिचान अहिले पनि ती स्थानमा वरपीपल मासिँदा पनि वरपीपलको नामबाटै परिचित छन्। धनकुटा नगरपालिका ६ र ७ को सीमा क्षेत्रमा रहेको चार चौतारा। यो ठाउँ सदरमुकामको मुख्य चोक हो।
कुनै बेला यहाँ चार वटा वरपीपलका बोट थिए। तर अहिले मासिएर तीन वटा मात्रै छन्। तर यो स्थानको नाम अहिले पनि चार चौतारा नै रहेको छ। चार वटा वरपीपलको बोट भएका कारण यहाँ चार स्थान जाने बाटो छ। व्यक्तिगत जग्गामा भएको कारण एउटा पीपल मासिएर अहिले घर बनिसकेको छ। चार चौतारामा बसेर बाघचाल, बुद्धिचाल खेल्ने गर्दथे। चौताराको ढुंगामा बाघचाल खेल्ने ढुंगाको खत नै रहेको छ। भलाकुसारी तथा गफ गर्नेको संख्या पनि धेरै हुन्थ्यो।
धनकुटा नगरपालिका— ६ स्थित सिरान बजारको शिरमा लहरै वरपीपलको बोट थिए। कुनै बेला यो ठाउँ लहरे चौताराको नामले परिचित थियो। अहिले केही बोट मासिएका छन्। भएका बोटबिरुवाको हाँगा काटिएर ठुटे बनाइएको छ। तर अहिले पनि त्यो क्षेत्रलाई लहरे चौताराको नामबाट चिनिन्छ। धनकुटा नगरपालिका— ७ सिर्बानीमा चिरबिरे चौतारा छ। त्यहाँ वरपीपलका बोट थिए। अहिले त्यहाँका हाँगा काटिएका छन्। तर पनि पहिचान तथा चिन्ने भनेको चिरबिरे चौताराकै नामबाट हो।
वरपीपल – पानीको स्रोत
वरपीपलको आकार ठूलो हुने भएकाले गर्दा यसको जरा पनि ठूलो क्षेत्रमा फैलिएको हुन्छ। टाढासम्म फैलिने भएको कारण जराले पानी सञ्चित गर्दछ। जसको कारण वरपीपल रहेको आसपासको क्षेत्रमा खानेपानीको मूल फुट्छ। चिस्यान बढ्छ। कतिपय स्थानमा वरपीपल भएको चौताराको आसपास खानेपानीका मुहान, कुवा, पोखरी हुन्छ।
तर वरपीपल जथाभावी काटिन थालेपछि पछिल्लो समय खानेपानीको मुहान सुक्न थालेका छन्। गोकुण्डेश्वर बाल मन्दिर माध्यमिक विद्यालयका प्राचार्य दामोदर मिश्रले वरपीपलको रूपमा मासिन थालेपछि पछिल्लो समय त्यसको असर देखिन थालेको बताउँछन्। उनका अनुसार जथाभावी वरपीपलका रुख काट्न थालेपछि वातावरण प्रदूषण बढेको छ। अक्सिजनको उत्पादन कम हुँदै गएको छ। पानीको मुहान सुक्न थालेका छन्।
वरपीपलको बोट नै काट्न थालेपछि आम मानिसमा वनजंगलको फडानीमा प्रोत्साहन बढेको उनी बताउँछन्। संरक्षणको लागि स्थानीय सरकार, सरोकारवाला निकाय र टोलबस्ती संगठनमा आबद्ध व्यक्तिहरू लाग्नुपर्ने उनको भनाइ छ। वरपीपल रहेको स्थानमा खानेपानीका मुहान थिए। वरपीपल मासिएपछि खानेपानीका मुहान सुक्न थालेका छन्।
हराउँदै चराचुरुंगीको बासस्थान
वरपीपलका रुख ठूलो क्षेत्रमा फैलिने हुँदा त्यहाँ काग, रूपी, भंगेरा, चिभेजस्ता विभिन्न प्रजातिका चराहरूको बासस्थान थियो। वरपीपलका रुखमा गुँड बनाएर चराहरू बास बस्थे। वर र पीपलका फल चराहरूको लागि आहार हुन्थ्यो। रुखमा बसेका चराचुरुंगीले निकाल्ने सुमधर आवाजले गुञ्जयमान बनाउन्थ्यो। तर अहिले वरपीपल मासिँदा चराचुरुंगीको बासस्थान हराएको छ।
संरक्षण गर्ने बेला आइसकेको छ – डिभिजन वन
पछिल्लो समय वरपीपल मासिन थालेपछि यसको संरक्षण गर्नुपर्ने बेला आइसकेको डिभिजन वन कार्यालय धनकुटाका वन अधिकृत विनोदकुमार रेग्मीले बताए। पहिलेपहिले सानो गोरेटो बाटो बन्थे। त्यसको छेवैमा वरपीपल रोप्ने चलन थियो। पछि त्यही गोरेटो बाटो फराकिलो बनाउँदा वरपीपल मासिन थाले। ठूला सडकको छेउछाउमा वरपीपल रोप्दामात्रै दीर्घकालीन संरक्षण हुने उनको भनाइ छ।
संरक्षण गर्न चेतनाको अभाव
वरपीपललाई संरक्षण गर्नुपर्छ भन्ने चेतनाको अभावले पछिल्लो समय वरपीपल मासिन थालेको हुन सक्ने सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष नीलबहादुर थापाको भनाइ छ।
‘वरपीपलको बिरुवा रोप्नु भन्ने चलन हराउन थाल्यो’ उनले भने, ‘जोखिम हुन्छ भन्दै हाँगा काट्न थाले, हाँगा काटेको बोट विस्तारै मर्न थाले’ सामुदायिक वन क्षेत्रभित्र वरपीपलको रुख संरक्षण भइरहेको उनी बताउँछन्। ऐन, नियमले वनभित्रका रुख काट्न सहजै पाइँदैन। जसको कारण संरक्षण भएको छ। तर सार्वजनिक क्षेत्रमा बाटो बढाउने, खानेपानी, विद्युत् विस्तार गर्नेजस्ता पूर्वाधार निर्माणले सहरी क्षेत्रमा वरपीपल मासिँदै गएको उनको भनाइ छ।
धार्मिक हिसाबले महत्त्वपूर्ण वरपीपल
धार्मिक आस्थाको हिसाबले वरपीपललाई महत्त्वपूर्ण वृक्ष मानिन्छ। स्वस्थानीमा वर्णन भएअनुसार जलन्धरकी श्रीमती वृन्दाले उसको पतिव्रत छल गर्दा तँ वनस्पति हुनु परोस् भनेर भगवान् विष्णुलाई श्राप दिएकी थिइन्। त्यो श्रापको कारण भगवान् विष्णुले नै वृक्षरूपी अवतार लिएको कथा प्रसंग स्वस्थानीमा उल्लेख रहेको धनकुटा मूलघाटस्थित विश्रान्तिधाम संस्कृत गुरुकुलम्का प्राचार्य दिनेशप्रसाद अधिकारी बताउँछन्।
स्वस्थानी व्रतकथाभन्दा अगाडि नै श्रीमद्भगवत गीतामा भगवान् विष्णुले वृक्षहरूमध्ये साक्षत् पीपलमा छु भनेर भन्नुभएको भनी उल्लेख रहेको उनले बताए। सोही कारण भगवान् विष्णुको अवतारको रूपमा पीपलको महत्त्व देखिएको हो।
साक्षात विष्णुको रूपमा पीपललाई पूजा गरिएको उनको भनाइ छ। नीतिशास्त्रमा उल्लेख भएअनुसार पीपलको फेदमा ब्रह्माको बास हुन्छ। बीच भागमा विष्णुको बास हुन्छ। पीपलको टुप्पो भागमा शिवको बास हुन्छ। त्यही भएर पीपललाई नमस्कार गरिने अधिकारी बताउँछन्। उनका अनुसार भगवान् गौतम बृद्धले पनि पीपलको फेदमा आफ्नो बुद्धत्व प्राप्त गरेका हुन्।
पीपलको फेदमा साधना र उपसना गर्दा शक्ति प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको बौद्ध धर्म र हिन्दु धर्ममा पीपलको वर्णन गरिएको छ।
सँगै रहेको वर, वरवधूको प्रतीकको रूपमा, बेहुलाबेहुलीको प्रतीकको रूपमा रहेको तर वरपीपल दुई पुरुष भएको उनले बताए। त्यही कारण वरपीपलको विवाह गर्दा पीपल र तुल्सी। वरको दुबोसँग विवाह गरिन्छ।
रुख जोगाउने संस्कृतिको विकास गर्नुपर्छ
वातावरणविद् डा। भूषण तुलाधरका अनुसार हरेक रुखको आफ्नै महत्त्व हुन्छ। वरपीपल हाम्रो संस्कृतिसँग पनि जोडिएको छ। रुखले प्रकृति र संस्कृतिलाई जोड्ने एउटा सेतुको काम गर्ने उनको भनाइ छ। यो एक साधारण रुखमात्र होइन। रुखलाई बचाउनुपर्छ भन्ने जुन मान्यता हाम्रो संस्कृतिमा छ त्यसलाई वरपीपलले बलियो बनाउने उनले बताए।
‘रुखको नास हुँदा प्रकृतिको मात्र होइन संस्कृतिको पनि नास हुन्छ’, उनले भने, ‘वातावरणीय प्रभाव के पर्छ भने एउटा दुइटा रुखमात्र जाने भन्ने कुरा होइन संस्कृतिमा प्रकृतिलाई बचाउनुपर्छ, सम्मान गर्नुपर्छ भन्ने धारणा नै विस्तारै मासिँदै गएको छ।
यो खतराको सूचक हो। यसको प्रभाव अरू क्षेत्रमा परेको छ। ’ उनका अनुसार कुनै पनि कुरालाई संरक्षण गर्ने भनेको (जस्तै रुखा/खोला/नदी) माया गर्ने, त्यसलाई बुझ्ने, सम्मान गर्ने हो। कुनै पनि कुरालाई माया नगर्ने हो भने त्यसलाई संरक्षण गर्न नसकिने डा. तुलाधरको भनाइ छ।
उनले रुखलाई बचाउनका लागि जनचेतना आवश्यक रहेको बताए। तर त्यो चेतना कसरी दिने हो भन्ने संस्कृति नै आन्तरिकीकरण गर्ने हो भने रुखलाई बचाउन सकिने उनको धारणा छ। संस्कृतिसँग जोडेर त्यसको महत्त्वलाई बढाउनुपर्ने उनी बताउँछन्। ‘चौतारी भनेको गफ गर्ने ठाउँ हो, अहिले चौतारीमा बसेर गफगाफ हुँदैन। धेरै मान्छे फेसबुकमै गफ गर्छन्। संस्कृतिले सद्भाव फैलाउन मद्दत गर्छ। सबै कुरा बुझाउने हो। त्यो बुझे भने आफैं संरक्षण हुन्छ’, उनले भने।
यस्तो छ आयुवेर्दिक महत्त्व
वैद्यहरूका भनाइअनुसार पीपलको पात, रुखको बोक्रा तथा फलमा औषधीय गुण हुन्छ। त्यसलाई धुलो बनाएर खाँदा पिसाबसम्बन्धी रोग, मधुमेहसम्बन्धी रोग र अनुहारमा लगाउँदा छालामा चमक आउँछ।
आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय चितवनका प्रमुख डा। कोपिला अधिकारीका अनुसार वरपीपलको पात, रुखको बोक्रा तथा फलमा प्रशस्तै औषधीय गुण हुन्छ। वरपीपलको बोक्रालाई औषधिको रूपमा घाउको उपचारमा प्रयोग गरिने उनले बताइन्। त्यस्तै वरको बाहिरको ठूलो जराको बोक्रा पनि औषधि हुन्छ। त्यस्तै पात, बोक्रा र फललाई धुलो बनाएर खाँदा पिसाबसम्बन्धी रोग, मधुमेहको रोग निको हुने उनको भनाइ छ।
एक वरबोट जसले तानिरहेछ पर्यटक
साँगुरीगढी गाउँपालिका—५ लाप्चेटारमा ठूलो अजंग वरको रुख छ। दक्षिण एसियामै दोस्रो ठूलो वरको रुख दाी गरिएको यो रुख हेर्न आन्तरिक पर्यटकको भीड लाग्ने गर्छ। भेडेटार–रवि–राके सडक खण्डअन्र्तगत भेडेटारबजारदेखि १३ किलोमिटर पूर्वमा रहेको डाँडाबजार पर्दछ।
डाँडाबजारदेखि करिब १ किलोमिटर पैदल हिँड्दा लाप्चेटारमा रहेको वरको रुख देख्न सकिन्छ। यहाँका स्थानीय बासिन्दाले यो रुखको आयु २ सय ५० वर्षभन्दा बढी रहेको बताउने गरेको ५ नं. वडाका वडाध्यक्ष खड्गबहादुर लिम्बूले बताए। स्रोत नखुलेकोे यो रुखको फेदको गोलाइ १७ मिटर रहेको छ।लगिि यसरी सामान्यभन्दा विशाल लाग्ने यस रुखले नेपालको मात्रै नभएर एसियाकै सबैभन्दा ठूलो रुख रहेको जनमान्यता छ।
यस रुखले टाढा टाढाबाट पर्यटकहरू आकर्षित गरिरहेको छ। साँगुरीगढी गाउँपालिकाले यो रुखले ओगटेको क्षेत्रफल मापन गर्न तयारी गरिरहेको अध्यक्ष जितेन्द्र राईले बताए। रुख हेर्न आउने आन्तरिक पर्यटकले डाँडाबारका सञ्चालित होमस्टे भरिभराउ हुने गर्छन्। विशेषगरी शुक्रबार र शनिबार पर्यटक आउने होमस्टे सञ्चालक सुनिता लिम्बूले बताइन्।
चार चौताराका तीन रुख
धनकुटा नगरपालिका ६ र ७ को सीमा क्षेत्रमा चार चौतारा छ। यो चौतारामा चार वटा वरपीपलका रुख भएका कारण यसको नाम चार चौतारा राखिएको थियो। लगििअहिले वरपीपलको रुख चारबाट घटेर तीन वटा हुन पुगेको छ। यो ठाउँले एउटा रुख गुमाए पनि ठाउँको नाम गुमाएको छैन। आज पनि यो ठाउँ चार चौतारा कै नामबाट सबैमाफ परिचित छ।
आजको अन्नपुर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।
Discussion about this post