काठमाडौं । गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको मृत्यु भएको छ।
मंगलबार डढेलो निभाउने क्रममा उनी गम्भीर घाइते रमेश पहरीलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो।
उनको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए।
डढेलो निभाउने क्रममा गम्भीर घाइते भएका शंकर पहरीको मंगलबार उपचारकै क्रममा मृत्यु भएको थियो। एसपी सुवेदीका अनुसार शंकर र रमेश एकै गाउँका हुन्।
सोमबार रातिदेखि आनन्द वनसहित ललितपुरका विभिन्न जंगलमा डढेलो लागेको थियो।
आनन्द वनमा डढेलो नजिकै रहेको कुष्ठरोग अस्पतालसम्म आउन नदिन त्यहाँ रातभरी प्रहरी परिचालित भएको एसपी सुवेदीले जानकारी दिए।
नेपाल प्रहरी र नेपाली सेना र सशस्त्र प्रहरीसहित ३५ जनाको टोली दमकलसहित त्यस क्षेत्रमा खटिएका थिए।
कुष्ठरोग अस्पतालमा रहेका बिरामीहरूलाई सुरक्षित स्थानमा सारिएको थियो।
एसपी सुवेदीले आनन्द वन र बडीखेलको डढेलो नियन्त्रणमा आएपनि ललितपुरका अन्य स्थानमा जंगलमा आगो अझै बलिरहेको बताए।
Discussion about this post