काठमाडौं । नातिनीको अन्तरजातीय विवाह गराएको भन्दै धनुषामा एक परिवारमाथि गाउँलेले कुटपिट गरेका छन् । मिथिला बिहारी नगरपालिका–१० का ९० वर्षीय मुर्ली झा र उनकी श्रीमती कलादेवीमाथि गाउँलेले कुटपिट गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार घटना गत मंगलबार साँझको हो ।मुर्लीकी बुहारी सरिता झाले परिवारका सदस्यहरूमाथि कुटपिट भएको भन्दै प्रहरीमा उजुरी दिएपछि घटना बाहिरिएको हो ।
गत सोमबार सरिताकी २३ वर्षीया छोरी महिमाले धनुषाधाम नगरपालिकाका प्रहन्द शिवहरेसँग प्रेम विवाह गरेकी थिइन् । सोही विषयमा अन्तरजातीय विवाह गराएर सामाजिक सद्भाव बिगारेको भन्दै गाउँलेले वृद्ध दम्पत्तीमाथि कुटपिट गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीमा दर्ता भएको उजुरीमा वडासदस्य ४० वर्षीय धर्मकान्त झा, ४० वर्षीय सरोज झा र २० वर्षीय नरेश झाले कुटपिट गरेको उल्लेख छ । उनीहरूले विवाह खारेज गर्नसमेत दबाब दिएको पाइएको छ । पीडित परिवारले उनीहरूलाई कारबाही गर्दै सुरक्षा दिन माग गरेको छ ।
उजुरीपछि घटनाबारे अनुसन्धान भइरहेको डीएसपी अवाले जानकारी दिए ।
Discussion about this post