विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–५ गोर्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको हत्यामा उनकै श्रीमानको संलग्नता यकिन भएको छ ।
मनमायाको हत्या आफ्नै श्रीमान ५० वर्षीय पदमबहादुर तामाङले गरेको पत्ता लागेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । बुधबार राति श्रीमतीको हत्या गरेर पदमबहादुर फरार बनेका थिए । उनलाई प्रहरीले सुन्दरहरैँचा–५ स्थित बूढी खोला किनारबाट शुक्रबार राति ९ः५५ बजेतिर पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले स्थानीयको सहयोग लिएर उनलाई पक्राउ गरेको हो । प्रहरीलाई देखेपछि पदमबहादुर भागेका थिए । स्थानीयको सहयोगमा पक्राउ गर्न प्रहरी सफल भएको डीएसपी बस्नेतले बताए ।
उनलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखेर घटनाको थप अनुसन्धान अघि बढाइएको छ । इन्सपेक्टर दाहाल नेतृत्वकै टोलीले उक्त घटनाको अनुसन्धान गरिरहेको हो । प्रहरीले सोधपुछ गर्दा श्रीमतीको हत्या आफैंले गरेको उनले स्वीकार गरेका छन् । पदमबहादुरविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइने डीएसपी बस्नेतले बताए ।
उनका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेका पदमबहादुरले सामान्य पारिवारिक विवादमा बाँसले हिर्काएर श्रीमती मनमायाको हत्या गरेको खुलेको छ । हत्या गरेर घरको कोठाको खाटमाथि छाडेको अवस्थामा बिहीबार बिहान मनमायाको अर्धनग्न शव फेला परेको थियो ।
मनमायाको हात र शरीरका विभिन्न भागमा चोटपटक थियो । श्रीमतीको हत्यापछि पदमबहादुरले छोरी रत्ना तामाङलाई ‘आमा रक्सीले मातेर लडिरहेकी छ’ भन्दै फोन गरेको प्रहरीले जनाएको छ । भोलिपल्ट बिहान माइती घर पुगेर हेर्दा हत्या भएको अवस्थामा आमाको शव देखेपछि रत्नाले प्रहरीलाई घटनाको जानकारी दिएकी हुन् ।
प्रहरीका अनुसार घरमा श्रीमान र श्रीमती मात्रै आएका थिए । छोरी रत्नाको बिहे भइसकेको र छोरा वैदेशिक रोजगारीका लागि साउदीमा रहेको खुलेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शवको पोस्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।
Discussion about this post