पोखरा । आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त गर्ने भएको छ ।
प्रतिभा छनोट समितिको सिफारिसलाई आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको कार्यसमिति बैठकले अनुमोदन गरेसँगै सहारालाई अवार्ड अर्पण गर्ने निश्चित भएको हो । छैटौँ संस्करणसम्म यो विधामा खेल संघलाई मात्र अवार्ड प्रदान गरिँदै आएकोमा सातौँ संस्करणबाट खेल संघ वा क्लब मध्येबाट उत्कृष्ट छान्ने व्यवस्था गरिएको थियो । यो अवार्ड पाउने सहारा पहिलो क्लब बन्न सफल भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।
अवार्ड पाउन सफल सहारा क्लबको स्थापना २०५५ भाद्र ३० गते पोखरामा भएको हो । ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवामा सेवा गरौं’ मन्त्रका साथ स्थापित क्लब विदेशसम्म फैलिएको छ । स्थापनादेखि निरन्तर यो क्लब खेलकुद र सामाजिक कार्यमा क्रियाशिल रहेको छ । २०५६ मा पृथ्वीचोकमा सार्वजनिक शौचालय निमार्ण गरेर सामाजिक कार्यको सुरुवात गरेको क्लबले २०५७ मा सहारा कप क्लब स्तरीय लिग कम नकआउट फुटबल प्रतियोगिता संचालन गरेको थियो ।
२०५८ सालमा ड्रिम प्रोजेक्टको रुपमा फुटबल एकेडेमी संचालन ग¥यो । एकेडेमीका लागि २०६३ सालमा पोखरा १७ दोविल्लामा २६ रोपनी जग्गा खरिद गरि २०६९ सालमा फुटबल मैदान सँगै भवन निमार्ण सम्पन्न गरेको थियो । अहिले सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी मार्फत क्लबले अनाथ तथा असाहय बालकलाई पालनपोषणका साथमा फुटबल समेत सिकाउँदै आइरहेको छ ।
२०६५ सालमा फिफाले सहारा एकेडेमीको डकुमेन्ट्री बनाएको थियो । जुन डकुमेन्ट्री फिफा फुटबल अन्र्तगत विश्वको अग्र स्थानमा परेपछि विविसि, इएसपीएन, स्टार स्पोट्र्स, टेन स्पोट्र्सले समेत प्रसारण गरेका थिए । यसबाट समेत क्लबको चर्चा विश्वभर फैलिएको थियो ।
क्लबले २०५७ सालदेखी सहारा वाल प्राथमिक विद्यालयलाई प्रावि तहको एक शिक्षकको तलब दिदै आएको छ । चर्चित युरोपियन फुटबल क्लब चेल्सीमा सुरक्षा अधिकारीको रुपमा कार्यरत पोखरा निवासी भुपेन्द्र गुरुङले पिच अनर शेयरको एक शेयर खरिद गरि शेयर सदस्यता लिएर चेल्सीमा आबद्ध भएपछि उक्त शेयर १८ सेप्टेम्बर २००७ मा भुपेन्द्रले सहारा क्लबलाई निःशुल्क रुपमा हस्तान्तरण गरेका थिए । यस्तो शेयर पाउने सहारा चेल्सीको फुटबल ईतिहासमै संस्थागत रुपमा पहिलो क्लब हो ।
२०५८ सालमा क्याराभान गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरेको क्लबले त्यसपछि प्रत्येक वर्ष अन्तर क्लब आमन्त्रीत आहा रारा फुटबल प्रतियोगिता आयोजना गदै आएको छ । गतवर्ष २३ औँ संस्करणको प्रतियोगिता सम्पन्न गरेको थियो । पोखरा तथा यस आसपासमा फुटबल खेलतर्फको रौनकता बढाउन यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । असहज समयमा समेत यस प्रतियोतालाई निरन्तरता दिएको कारण क्लबले फुटबल खेलको क्षेत्रमा अब्बल क्लबको रुपमा आफूलाई स्थापित समेत गर्न सफल भएको छ ।
सहाराले खेल क्षेत्रमा काम गदै आएका पत्रकारहरुको हौसला बढाउन २०६३ सालबाट सहारा खेलकुद पत्रकारिता पुरस्कार वितरण गदै आएको छ ।
२०७२ सालको भुकम्प पछि सहारा युके, सहारा हङकङ, अरुण फाउण्डेशन सँगको समन्वयमा गोरखाको घैरुङस्थित श्री गणेश प्राविमा आठ कोठे भवन, सिन्धुपाल्चोक हैबुङस्थित श्री हैबुङ महादेवस्थान माविमा पाँचकोठे भवन र कास्कीको सिदिङस्थित सरस्वती आधारभुत विद्यालयमा पुननिमार्णको लागि सहयोग समेत गरेको थियो । यसका अलावा थुप्रै सामाजिक कार्य र खेल गतिविधिका कारण क्लबले आफ्नो ओज बढाएको छ । यही वैशाख २८ गते शुक्रबार दिउँसो ३ बजेबाट पोखरा सभागृहको हलमा आयोजना हुने कार्यक्रमकाबीच अवार्ड प्रदान गरिनेछ ।
अवार्ड कार्यक्रममा वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबसँगै, वर्ष उत्कृष्ट प्रशिक्षक, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका महासचिव पौडेलले जनाए ।
मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५ हजार रुपैयाँ प्रदान गर्ने समेत जनाएको छ ।
Discussion about this post