विराटनगर । मोरङको सुन्दरहरैँचाबाट लागूऔषध गाँजाको अवैध धन्दामा संलग्न ४ जना पक्राउ परेका छन् ।
‘विशेष अप्रेशन’ चलाएको प्रहरीले घरमै राखेर गाँजा बिक्री गर्ने, खरिद गर्ने र गाँजा ‘सप्लाई’ गर्नेहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुबाट अढाई किलोग्राम गाँजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
उनका अनुसार गाँजाको धन्दामा संलग्न सुन्दरहरैँचा नगरपालिका–७ डाँडा गाउँका ६३ वर्षीय देव चौधरी, ३८ वर्षीय दुर्गाप्रसाद फुयाँल, मोरङको केराबारी गाउँपालिका–४ का ३१ वर्षीय सुविन राई र केराबारी–४ का १९ वर्षीय अनिसम बस्नेतलाई पक्राउ गरिएको छ ।
पक्राउ परेकामध्ये चौधरीले आफ्नै घरमा राखेर गाँजा बिक्री गर्ने गर्थे । फुयाँल चौधरीको घरमा गाँजा खरिद गर्न जाँदा पक्राउ परेका हुन् ।
राई र बस्नेतले चौधरीको घरमा गाँजा ‘सप्लाई’ गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चौधरीको घरबाट गाँजा बिक्री हुने गरेको विशेष सूचना प्रहरीले प्राप्त गरेको थियो ।
त्यसलगत्तै इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहालले टोली परिचालन गरे ।
बेलबारीबाट खटिएको वरिष्ठ सइ (प्रहरी वरिष्ठ नायव निरीक्षक)को नेतृत्वको टोलीले सुरुमा चौधरी र फुयाँललाई पक्राउ गरेको हो ।
डीएसपी बस्नेतका अनुसार आइतबार राति ९ः३० बजेतिर प्रहरी पुग्दा चौधरीको घरमा गाँजा किनबेच हुँदै थियो । ‘चौधरीले फुयाँललाई गाँजा बेच्दै थिए,’ बस्नेत भान्छन्, ‘त्यही बेला दुवै जना पक्राउ परेका हुन् ।’
दुवै जनालाई पक्राउ गरेर प्रहरीले चौधरीको घरमा छापा हानेको थियो । त्यस क्रममा ५ सय ग्राम (आधा किलोग्राम) गाँजा बरामद भएको जानकारी डीएसपी बस्नेतले दिए ।
सोधपुछ गरेर प्रहरीले प्रदेश १–०२–०५३ प ९०३१ नम्बरको मोटरसाइकलमार्फत चौधरीको घरमा गाँजा ‘सप्लाई’ हुने गरेको पत्ता लगायो ।
‘चेक पोइन्ट’ थापेर सवारीसाधन चेकजाँच गर्न थालेको प्रहरी उक्त मोटरसाइकललाई पनि नियन्त्रणमा लिन सफल भएको डीएसपी बस्नेतको भनाइ छ ।
मोटरसाइकललाई नियन्त्रणमा लिएर प्रहरीले चालक राई र पछाडि सवार बस्नेतलाई पक्राउ गर्यो । बस्नेतले पछाडि बोकेको झोला खानलतासी गर्दा २ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
राई र बस्नेतले अन्यत्र पनि गाँजा ‘सप्लाई’ गर्ने गरेको प्रहरीको अनुमान छ ।अनुसन्धानबाट थप कुरा खुल्ने डीएसपी बस्नेतले बताए । पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।
प्रहरीका अनुसार उनीहरुविरुद्ध लागूऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी छ । घटनाका सम्बन्धमा इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ ।
Discussion about this post