विराटनगर । कोशी प्रदेशममा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएपछि बिहीबार साँझ पहिलो मन्त्रिपरिषद् बैठक बसेको छ ।
बैठकले प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन वैशाख ३१ गते ११ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष सिफारिस गर्ने पहिलो निर्णय लिएको छ । बैठकले बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय लिएको हो ।
प्रदेशसभाको दोस्रो कार्यकालमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार तेस्रोपटक मुख्यमन्त्री बनेका कार्कीले एमालेबाट रामबहादुर राना र नेकपा (माओवादी केन्द्र)बाट गणेशप्रसाद उप्रेतीलाई बिनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।
आफ्नो र मन्त्रीको शपथ सकिएर पदभार ग्रहण गरेलगत्तै उनले मन्त्रिपरिषद् बैठक बोलाएका थिए । साँझ बसेको बैठकले बजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्नेलगायतका विभिन्न ३ वटा निर्णय गरेको छ ।
बैठकले नवनियुक्त मन्त्री रामबहादुर रानामगरलाई प्रदेश सरकारको प्रवक्ता तोकेको छ । रानामगरलाई सरकारको प्रवक्ता तोक्ने बैठकको दोस्रो निर्णय हो । त्यस्तै, प्रदेशका पूर्वमुख्य न्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता चूडामणि आचार्यको संयोजकत्वमा संघीयता कार्यान्वयन तथा कानुन निर्माण सम्बन्धी एकीकृत अध्ययन कार्यदल निर्माण गर्ने तेस्रो निर्णय मन्त्रिपरिषद् बैठकबाट भएको छ । कार्यदल ७ सदस्यीय छ ।
पूर्वमुख्य न्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य, पूर्वप्रदेशसभा सदस्य अर्जुन राई, कूलप्रसाद साम्बा, जसमाया गजमेर र पूर्वउपसचिव नरेन्द्र श्रेष्ठ कार्यदलको सदस्य छन् । प्रदेशको आन्तरिम मामिला तथा कानुन मन्त्रालयका सचिवलाई कार्यदलको सदस्यसचिव तोकिएको छ ।
Discussion about this post