इटहरी । इटहरीका सार्वजनिक स्थानमा कुकुरलगायतका घरपालुवा जनावरलाई दिशा पिसाब गराउन नपाइने भएको छ ।
इटहरी उपमहानगरपालिका वातावरण शाखाले एक सूचना जारी गर्दै यस्तो बताएको हो । जेठ १ गते (आजबाट) सफाइ अभियान सुरु भएपछि यस्तो नियम लागू भएको हो ।
सफाइ अभियान सुरु भएपछि प्रत्येक घरधनी, व्यवसायी, उद्योग र कार्यालयहरूले फोहोरमैला सफाइ अभियान कार्ड अनिवार्य रूपमा बनाउनुपर्ने ,घर तथा व्यवसायमा उद्योग कार्यालयबाट उत्पादन हुने फोहोर मैला निश्चित स्थानमा सुरक्षित तरिकाले राख्नुपर्ने इटहरी उपमहानगरपालिका वातावरण शाखाले जानकारी दिएको छ ।
यसका साथै फोहोरमैला सङ्कलन गर्ने भाँडा वा बोरामा हानिकारक पदार्थ र रासायनिक पदार्थ राख्न नपाइने र प्रत्येक वडाको प्रत्येक टोलमा समय तालिका अनुसार गाडी र कर्मचारी सुविधा प्रदान हुने सूचनामा बताइएको छ ।
साथै घर ब्यावसाय कार्यालय अगाडीको सडक नालीमा पशु चौपाया बाँध्न, छाडा छोड्न र घाँसपात ,पराल, गिटी, बालुवा, माटो भण्डारण गरेर सडक तथा नाला अवरोध गर्न नपाइने भएको छ ।
खोलानाला, पैनी, पोखरी, सिचाई, नहरमा घर ब्यावसायको फोहोर थुपार्न आगो लगाउन नपाइने वातावरण शाखाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
अटेर गरेर फोहोर जथाभाबी फाल्ने , आगो लगाउने गरेमा फोहोर मैला व्यवस्थापन ऐन ०६८ तथा नियमावली २०७० अनुसार प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत सूचनामा उल्लेख छ ।
अटेर गरेर घर पालुवा जनावरहरू अर्काको घर अगाडि फूलबारीमा डुलाएर दिशा पिसाब गराउने, सार्वजनिक स्थानमा गिटी, बालुवा, पराल तथा गाईबस्तु बाँध्ने कार्य गरेमा ५ हजारदेखि १५ हजार सम्म जरिवाना गरिने सूचनामा उल्लेख गरिएको छ ।
साथै खोलानाला ,पैनी, पोखरीमा कसैले फोहोर फालेको प्रमाणसहित सूचना दिने अभियन्तालाई पुरस्कृत र सम्मान गरिने इटहरी उपमहानगरपालिका वातावरण शाखाले जनाएको छ ।
Discussion about this post