विराटनगर । विराटनगरबाट प्रहरीले लागूऔषध गाँजा अढाई क्वीन्टल (२ सय ५० किलोग्राम) बरामद गरेको छ ।
भारततर्फ लैजाने तयारी गरिएको ठूलो परिमाणको गाँजा विराटनगर महानगरपालिका–१७ आईसीपी रोडबाट मंगलबार राति ११ः३५ बजेतिर बरामद गरिएको हो । गाँजा बरामद भएको स्थान नेपाल–भारत सीमानजिक पर्छ । काँचो केरा लोड गरिएको प्रदेश १–०२–०२ च ६३३१ नम्बरको पिकअप भेनमा गाँजा फेला परेको हो ।
भेनलाई बाटोमा रोकेर केरा र गाँजा अनलोड गर्दै गरेको जानकारी प्राप्त भएपछि नियन्त्रणमा लिन मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट संयुक्त टोली परिचालन गरेका थिए । विशेष सूचनाका आधारमा खटिएको टोलीले पिकअप नियन्त्रणमा लिएर खानतलासी गर्दा ठूलो परिमाणमा लागूऔषध गाँजा फेला पारेको हो ।
एसपी कार्कीले बोरामा प्याक गरेर पिकअपको पछाडि डालामा राखिएको अवस्थामा गाँजा बरामद भएको जानकारी दिए । उनका अनुसार पिकअपको डालोमा गाँजा तल राखी माथिबाट केराले छोपिएको थियो । प्रहरीले पिकअपलाई नियन्त्रणमा लिएर चालक धनकुटाको सहिदभूमि गाउँपालिका–३ का १८ वर्षीय दिवस राईलाई पक्राउ गरेको छ ।
एसपी कार्कीका अनुसार केरा ओसारपसार गरेको देखाएर गाँजाको अवैध धन्दा चलाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘केराको आवरणमा गाँजा तस्करी गर्ने गरेको खुल्यो,’ एसपी कार्कीले भने, ‘भारततर्फ कटाउने योजना बनाएर ल्याइएको गाँजा बरामद गर्न प्रहरी सफल भएको छ ।’
पिकअप र गाँजासहित पक्राउ परेका चालकका सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर सन्दीप बेलबासे नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ । चालक राईविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाँजा अवैध बाटोको प्रयोग गर्दै सुरक्षाकर्मीलाई छलेर भारत कटाउने गरिएको छ । बरामद भएको गाँजा पनि भारततर्फ लैजानका लागि सीमा क्षेत्रनजिक पुर्याइएको प्रहरीको भनाइ छ । नेपालमा भन्दा भारतमा दोब्बर बढी मूल्य पाइने भएका कारण अवैध धन्दामा संलग्नले विभिन्न उपाय लगाएर तयारी गाँजा भारत पुर्याउने गरेको प्रहरीका एक अधिकारीले बताए ।
Discussion about this post