- विवेक मिश्र
बेलबारी । २० वर्ष अघि परिवारलाई छोडेर हिँडेका शमशेर बहादुर कटुवाललाई स्थानीय सरकारको रोहवरमा घर फर्काए पछि कटुवाल परिवारमा मात्र नभएर गाउँमै खुसीयाली छाएको छ ।
मोरङको बेलबारी नगरपालिका लक्ष्मी मार्ग स्थित वडा कार्यालयमा सोमवार बिस वर्षपछि फेला पर्नुभएका ६६ वर्षीय शमशेर बहादुर कटुवाल र उहाँको परिवार बिच मेलमिलाप गराउँदै परिवारलाई जिम्मा लगाइएको छ ।
“भोजपुरको जरायो टार बाट वि.स २०६१ सालमा बेपत्ता हुनुभएको श्रीमान् फेला पर्नुहुन्छ भन्ने कल्पना पनि गरेको थिइन, जिउँदो हुनुहोला भन्ने आस थिएन” कटुवालकी श्रीमती सिता कार्की कटुवाल भन्छिन् । कटुवाल दम्पतीको वि.स.२०५० सालमा विवाह भएको थियो ।
“विवाह भएको छोटो समय १० वर्ष भित्रमै हाम्रो छ सन्तान भई सकेका थिए, कान्छो छोरो दश महिनाको छाडेर बेपत्ता भए , म एक्ली आमाले ६ सन्तान हुर्काउन धेरै सङ्घर्ष गर्दै दुःख भोग्नुपर्यो” सिता कटुवाल भन्छिन् ।
परिवारको सहारा नपाएपछि आफू माइतीको साहारामा झापाको केचना हुँदै हाल लक्ष्मी मार्ग आएको सिताले बताइन् । “धेरै खोजी गर्यौ कसैले भेट्यौ भनेनन् आज बेलबारीको ११ नम्बर वडा कार्यालयले यो अवसर जुराउँदा धेरै खुसी लागेको” सिता बताउँछिन् ।
कटुवालकी कान्छी छोरी केसरी कटुवालले भनिन् “ बुवाको आवश्यकता नागरिकता बनाउने बेलामा महसुस भयो, हामी छोराछोरीले धेरै दुःखले नागरीताका बनाएका छौँ ।”
यस अघि बुबाको अनुहार सम्म राम्ररी याद नभएकी छोरी केसरीले भनिन् बुबालाई देख्न भेट्न पायौ तर बुबाको बोली सुन्न पाएनौ । शमशेर बहादुर बोल्न सक्दैनन् । उनी घाँटीमा क्यान्सर रोगबाट ग्रसित छन् । आर्थिक अवस्था न्यून भएकोले कटुवाल परिवार उपचारमा कसरी लाग्ने भनेर चिन्तित छन् ।
परिवारको आर्थिक अवस्था कमजोर भएको कारण क्यान्सर पीडित कटुवालको उपचारमा सबैले सहयोग गर्नुपर्ने लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताउँछिन् । गौतमले भनिन् यो एउटा उदाहरणीय काम भएको छ सबै निकायको सहयोगमा यो भएको हो । परिवारको सम्पर्कमा नरहनुभएका कटुवाल बिरामी भए पश्चात् सम्पर्कमा आएका हुन् ।
कटुवाल परिवार सँग लामो छलफल पश्चात् वडा कार्यालयको समन्वयमा लिखित सहमति गराइएको छ वडाध्यक्ष विक्रम राईले बताए अव कागजी प्रक्रिया पुरा गरेर उहाँ क्यान्सर पीडितलाई राज्यबाट पाउने सेवा सुविधा दिलाउँछौँ ।
Discussion about this post